धेरै अदुवा खानुका यस्ता छन् हानी, थाहा पाउनुस्

अदुवाको चियाले जाडोमा राहत दिन्छ। अदुवाको प्रभाव तातो हुन्छ। रुघाखोकी, कफमा यो फाइदाजनक हुन्छ। यो दाँत र टाउको दुखाइका लागि पनि फाइदाजनक हुन्छ। अदुवामा ऊर्जा, फाइबर, प्रोटिन, क्याल्सियम, आइरन, पोटासियम, सोडियम, जिंक, कपरजस्ता खनिजहरू प्रशस्त मात्रामा पाइन्छ। यो भिटामिन सी, भिटामिन बी –सिक्स, भिटामिन – के, भिटामिन– ई को स्रोत पनि हो। तर बढी मात्रामा अदुवा खाँदा स्वास्थ्यमा पनि नराम्रो असर पर्न सक्छ। अदुवाले शरीरलाई हुने हानीबारे भारतकी डाक्टर रक्षा रानीले जानकारी दिएकी छिन्।
गर्भावस्थामा समस्या आउन सक्छ
गर्भावस्थामा महिलाको शरीरमा धेरै आन्तरिक परिवर्तनहरू हुन्छन्। जसका कारण वाकवाकी लाग्ने, पेट दुख्ने, चक्कर लाग्ने, रक्तचाप कम हुने जस्ता स्वास्थ्य समस्या हुने गर्दछ। यस्तो अवस्थामा महिलाले अदुवाको अत्यधिक सेवन गरेमा रगत बग्ने र कब्जियतको समस्या हुन सक्छ । गर्भावस्थामा, डाक्टरको सल्लाह बिना आफ्नो आहारमा अदुवालाई धेरै समावेश नगर्नुहोस्।
महिनावारीमा भारी रक्तस्राव
शरीरलाई तातो बनाउने अदुवाको सेवनले रगत पातलो हुन्छ। महिनावारीको समयमा अदुवाको अत्यधिक सेवनले धेरै रक्तश्राव हुन सक्छ र महिनावारी सामान्यभन्दा लामो समयसम्म रहन्छ। महिनावारीको समयमा अदुवाको प्रयोग थोरै मात्रामा गर्नुहोस्। पायल्सको समस्यामा अदुवाको सेवन गर्नु हुँदैन। यो हानिकारक साबित हुन सक्छ।
उच्च रक्तचाप र मधुमेहमा हानिकारक
जाडोमा शरीरको रक्तसञ्चार कम हुने भएकाले उच्च रक्तचापका बिरामीलाई निकै गाह्रो हुन्छ। मधुमेहमा अदुवाको सेवन गर्नाले रगतमा चिनीको मात्रा कम हुनसक्छ। यदि तपार्इं यी रोगहरूका लागि औषधि खाँदै हुनुहुन्छ भने, अदुवाले यसमाथि पनि असर पार्नसक्छ।
पेट खराब हुनसक्छ
अदुवाको प्रयोग दाल, तरकारी, चिया र अचारजस्ता चीजहरूमा गरिन्छ र खानामा अदुवाको मात्रा आवश्यकताभन्दा बढी भएमा झाडापखाला लाग्न सक्छ । खानामा अदुवाको सेवन संयमित मात्रामा गर्नुहोस्।
जाडोमा कति अदुवा खाने
विज्ञहरूका अनुसार जाडोबाट राहतका लागि चिया वा खानामा अदुवाको अतिरिक्त प्रयोग गर्नुहुन्छ भने तुरुन्तै बन्द गर्नुहोस्। चियामा मात्रै अदुवा हालेर खानुहोस्। तरकारीमा अदुवाको प्रयोग गर्नुहुन्छ भने १ इन्चको टुक्रा काटेर हाल्नुहोस्। यसले थप स्वाद दिनेछ र योभन्दा बढी अदुवा पनि तपाईंले प्रयोग गर्नु पर्दैन। यदि कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्त डाक्टरलाई देखाउनुहोस्।