लगनखेल चोकमा चिटिक्क पार्क
स्वीस सरकारको आर्थिक र प्राविधिक सहयोगमा यो पार्क निर्माण भएको हो ।

१९ कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेलस्थित न्हु पोखरीसँगै न्हु पुखु एभेन्यू नामको सार्वजनिक पार्क निर्माण गरेको छ । स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको पार्कको बिहीबार उद्घाटन गरिएको छ ।
नगर प्रमुख चिरीबाबु महर्जन र स्वीस राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रेर पेजले पार्कको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । यस सार्वजनिक स्थललाई स्वीजरल्याण्ड र नेपालबीचको अटुट मित्रताको प्रतीकका रूपमा लिइएको छ । महानगरपालिकासँगको सम्झौताअनुसार स्वीस सरकारको सहयोगमा निर्माण गरिएको पार्कको कुल लागत दुई करोड २५ लाख रुपैयाँ रहेको महानगरले जनाएको छ । वडा नं. ५ मा रहेको पार्क दुई रोपनी चार आना क्षेत्रफलमा फैलिएको छ ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख महर्जनले पार्क नेपाल र स्वीजरल्याण्डका नागरिकबीचको सम्बन्धको प्रतीक भएको बताए । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा स्वीस सरकारले पार्क निर्माणको प्रस्ताव गरेको र महानगरले त्यसलाई स्वीकार गरेको उनले जानकारी दिए ।
अनावश्यक संरचना हटाएर पार्क निर्माण गरिएको बताउँदै महर्जनले यस स्थानको विगत र अहिलेको अवस्थाबीच आएको परिवर्तनबारे उल्लेख गरे । महानगर र महानगरवासीले आफ्ना सन्तानलाई जस्तै पार्कको स्याहार गर्ने प्रतिबद्धता जनाउँदै उनले स्वीस राष्ट्रिय परिषद्का अध्यक्ष पेजको प्रतिनिधिमण्डललाई पुनः नेपाल भ्रमणको निम्तो दिए ।
नेपाल एकपटक आएर मात्र नपुग्ने बताउँदै महर्जनले अर्को भ्रमणका बेला यहाँका अन्य पोखरी पनि पानीले भरिभराउ हुने र रातमा जुनकिरी देखिने बताए । स्वीस राष्ट्रिय परिषद्का अध्यक्ष पेजले ललितपुर महानगरपालिका र यहाँका नागरिकको न्यानो आतिथ्यका लागि धन्यवाद दिए । नेपालमा जस्तै स्वीजरल्याण्डमा पनि धेरै हिमाल रहेको उल्लेख गर्दै उनले यस पार्कले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको बताए ।
पेजले पुनः नेपाल भ्रमण गर्न इच्छुक रहेको बताउँदै पानीले भरिएका पोखरी हेर्न आउने प्रतिबद्धता जनाए ।




