राजनीति

भ्रष्टाचार विरोधी अभियानमा जनताको समर्थन छ: महासचिव देव गुरुङ

२९ असोज, काठमाडौं। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले माओवादी केन्द्रको नेतृत्वले सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानमा जनताको समर्थन भएका कारण मात्रै सरकारको टिकेको बताएका छन्।

जनप्रगतिशील मञ्चद्वारा बेलायतको अल्डरसर्टमा आयोजित वार्षिक भेटघाट तथा विभिन्न चाँडपर्वको उपलक्ष्यमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले अहिलेको सरकार टिक्नुमा भ्रष्टाचार विरोधी अभियान नै मुख्य कारण भएको बताएका हुन्।
‘भ्रष्टाचार विरोधी अभियान सुरु गरेकाले धेरैलाई पचेको छैन। जनताको व्यापक समर्थनले मात्रै प्रचण्ड सरकार टिकेको छ। यो सरकार कुनै पनि हालतमा टिकाउनु छ’, उनले भने, ‘भ्रष्टाचार विरोधी अभियानमा जनतालाई ठीक ढंगले सम्प्रेषण गर्न सकियो भने जनताले साथ दिन्छन्।’

उनले जनताको साथ र समर्थनले तेस्रो दल, सानो दल भएको भएता पनि ठूला दलहरूलाई कुनै न कुनै रूपमा मिलाउँदै र राष्ट्रिय सहमति भन्दै माओवादीले अहिले मुलुकको नेतृत्व गरिरहेको बताए। भ्रष्टाचार विरोधी अभियान सरकारले सुरु गर्दा जन समर्थनले मात्रै टिकेको छ।’ अहिले प्रचण्ड नेतृत्वको सरकारले निर्ममतापूर्वक भ्रष्टाचार विरोधी अभियान चालेको भन्दै उनले विदेशी शक्तिकेन्द्रले सरकार र यसले गरेका जनपक्षीय कामलाई पचाउन नसकेको आरोप समेत लगाए।

‘अहिले माओवादीप्रति जन विश्वास बढेर गएको छ। नेपालदेखि विदेशसम्म पार्टी प्रवेशको लहर चलिरहेको छ। यो जनलहरको एकताले देशको रक्षा गर्नेछ’, उनले भने, ‘यसले नेपालको पुँजीवादी गणतन्त्रलाई जनताको समाजवादी गणतन्त्र स्थापना गर्न मद्दत पुग्नेछ।’ यतिबेला माओवादीले देशको नेतृत्व नगरेको हुन्थ्यो भने विदेशी सेनाले देशमा परेड खेल्ने ठाउँ बन्ने पनि जिकिर गरे। ‘तेस्रो दल भए पनि अहिले मुलुककै नेतृत्व गर्ने अभिभावकीय जिम्मेवारीमा माओवादी छ।

यतिखेर माओवादीले यो भूमिका नखेलेको हुँदो हो त यतिखेर नेपालमा बिदेशी सेनाले परेड खेल्ने ठाउँ बन्थ्यो’, उनले भने, ‘नेपाल विगतको अफगानिस्तान जस्तो द्वन्द्वग्रस्त क्षेत्र बन्थ्यो। माओवादीले पहल नगरेको भए नेपाल यतिबेला युक्रेन बनिसक्थ्यो। यो अवस्थाबाट बचाएर ल्याउने काम माओवादी केन्द्रको नेतृत्वले गरिरहेको छ।’

उनले समाजवाद स्थापना गर्नका लागि पार्टीले तीन महिने जनतासँग विशेष रुपान्तरण अभियान थालेको बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>