भ्रष्टाचारका प्रकरणहरूले कांग्रेस र एमालेलाई एक ठाउँमा ल्यायोः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका विभिन्न प्रकरणहरूले कांग्रेस र एमाले एकैठाउँमा आएको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले तीन प्रकरणमा संलग्नहरूले दुई ठूला दललाई मिलाएको बताएका हुन् । ‘त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो एउटा समूह डरायो। ललिता निवासको जग्गाको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया सुरू भयो अर्को समूह डरायो । भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान सुरू भयो अर्को ठूलै समूह डरायो,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले बाँसबारीदेखि बालमन्दिरसम्मका जमिन खोजी हुन थालेपछि यो देशको शक्ति सन्तुलन नै खलबलिन थालेको दाबी गरे । ‘त्यही वर्गले देशको पहिलो र दोस्रो ठूलो दल मिलाएका हुन्। यसरी त्यो वर्गले आफ्नो शक्ति देखायो,’ उनले भने । अर्कातर्फ सरकारको सफलता नै सरकार ढाल्ने बिडम्बनापूर्ण आधार बनेको प्रधानमन्त्री प्रचण्डले बताए । प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा रेकर्ड बनेको बताए ।
‘यति ओम्नी र गिरबन्धुहरूको बोझ र कलंक नबोकेपनि प्रधानमन्त्री बन्न सकिन्छ भन्ने रेकर्ड बन्यो,’ उनले भने ।




