संसारकै सबैभन्दा स्वास्थ्यवर्द्धक खानेकुराहरु

भर्खर नुहाएको व्यक्तिको कपाल र खाएको व्यक्तिको गाला फरक देखिन्छ । बुढापाकाहरू यसै भन्छन्। सुन्दा यो भनाइ सामान्य लाग्छ । तर, यसको अर्थ गहन छ। जस्तो तपाइको खानपान हुन्छ, अनुहारमा चमक पनि सोही अनुसारको देखिन्छ । व्यापार र कारोबारमा मात्र लगानी हुन्छ भन्ने लाग्न सक्छ । तर, स्वस्थ शरीर पनि एउटा लगानी हो । जति राम्रो लगानी त्यति धेरै मुनाफा । प्रतिफल लगानीमा आधारित नै हुन्छ ।
यसो भन्नुको अर्थ के हो भने जति स्वस्थ खानपिन र दिनचर्या त्यति नै राम्रो स्वास्थ्य र राम्रो दिनचर्या हुन्छ । स्वस्थ खानु भनेको सन्तुलित आहार लिनु हो। यसको अर्थ खानामा शरीरलाई चाहिने सबै आवश्यक पोषक तत्वहरू समावेश हुनुपर्छ । अधिकांशको रोजाइमा धेरै मसलेदार र तारेको खाना पर्छ। जुन खाँदा मिठो र वास्तविकरुपमा दुःखद् कुरा हो । यी खानेकुराले पोषण कम र रोग बढी दिन्छ । र, हामी सन्तुलित आहारलाई प्लेटबाट पन्छाउँदै गइरहेका छौँ । यसको कारण भनेको सधैं केही न केही कुरामा दौडिरहन्छौं । हामीसँग हरेक काम गर्न समय छ । तर, शान्तिपूर्वक खाना खाने समय छैन । त्यसैले, हामीलाई जे मिल्छ, हामी त्यो छिटो खान्छौँ । र, पेट भर्छौँ । कतिपयलाई थाहा हुँदैन। कुन चीज खाँदा कुन पोषकतत्व प्राप्त हुन्छ । हामी सबैले आफूलाई कसरी फिट र स्वस्थ राख्न सक्छौँ भनेर पत्ता लगाउन धेरै प्रकारका अनुसन्धानहरू भइरहेका छन् ।
वैज्ञानिकहरूले एक सयवटा यस्ता चीजहरूको सूची बनाएका छन्, जसलाई हाम्रो आहारको हिस्सा बनाएर हामी हाम्रो शरीरलाई आवश्यक पर्ने सबै पोषक तत्वहरू प्रदान गर्न सक्छौँ । यी मध्ये केही खानेकुरा छन्, जुन गाउँघरमै पाइन्छ । बजारमै पाइन्छ। खल्तीमा ठूलो भार पर्दैन । सहजै उपलब्ध हुनेछन् ।
के के हुन त ?
१. बदाम
बदाम प्रोटिनको राम्रो स्रोत हो । यसमा मोनो–अनस्याचुरेटेड फ्याटको राम्रो मात्रा हुन्छ, जसले मुटु रोगसँग लड्न शक्ति दिन्छ । दैनिक पाँचदेखि सातवटा बदाम खानु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । एक सय ग्राम बदाममा ५९७ किलो क्यालोरी हुन्छ । वैज्ञहरूका अनुसार यसको पोषण स्कोर ९७ दिएको छ । बदामसँगै ओखर, किसमिस पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
२.समुद्री खाना
यदि मांसाहारी हो भने समुद्री खाना स्वस्थवर्द्धक रहन्छ । जसमध्ये रेड स्नाइपर नामक माछामा विशेष पोषक तत्वहरू हुन्छन् । यी माछा नेपाली बजारमा प्राप्त छन्। जुन स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छन् । तर यसलाई खाँदा सावधानी अपनाउनु आवश्यक छ किनभने यसमा खतरनाक विषाक्त पदार्थहरू पनि हुन्छन् । यदि राम्ररी सफा गरिएन भने, रेड स्निपरले फाइदा भन्दा बढी हानि पुर्याउन सक्छ। वैज्ञानिकहरूका अनुसार यसको पोषण स्कोर ६९ छ ।
३.जुनार /सुन्ताला
जुनार, सुन्ताला कागतीको प्रजातिमा पर्ने फल हो । जसमा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । यसले छालालाई चम्किलो बनाउँछ । जसकारण खाना पचाउने क्षमतामा पनि सुधार हुन्छ । एसिडिटीबाट पीडितहरूका लागि यो फल रामबाण औषधि हो । यी मध्ये सुन्तला शीर्ष स्थानमा छ । यो संसारका लगभग सबै देशहरूमा उब्जाउन सकिन्छ । वैज्ञानिकहरूका अनुसार यसको पोषण स्कोर 100 मा ५१ प्रतिशत छ । यदि आफ्नो छाला चम्किलो राख्न चाहनुहुन्छ भने, दैनिक सुन्तला खानु उचित हुन्छ ।
४.अनार
अनारमा प्रशस्त मात्रामा एन्टि–अक्सिडेन्ट पाइन्छ। यसमा प्रशस्त मात्रामा आइरन पनि हुन्छ । हरेक दिन एउटा अनार खाँदा हेमोग्लोबिनको कमी हुनबाट बचाउँछ । अनारमा प्रचुर मात्रामा लाभदायक प्रोटिन, कार्बोहाइड्रेट, फाइबर, भिटामिन र खनिज पदार्थ पाइन्छ । एक सय ग्राम अनार खाँदा हाम्रो शरीरलाई करिब ६५ किलो क्यालोरी ऊर्जा प्राप्त हुन्छ । यसको प्रयोग थुप्रै आयुर्वेदिक औषधि बनाउन समेत गरिन्छ। अनारमा रक्त सञ्चारसम्बन्धी रोगसँग जुध्ने क्षमता हुन्छ ।
५.खर्बुजा
मौसम परिवर्तन हुँदैछ। गर्मी आउँदैछ । यो मौसममा शरीरलाई सबैभन्दा बढी पानीको आवश्यकता पर्छ। त्यसैले, प्रशस्त पानी भएको फलफूल र तरकारी खानुपर्छ । काँक्रो, तरबुजा र खरबुजा त्यस्ता फलफूल हुन् । नेपालको तराईका भू-भागमा खर्बुजा प्रशस्त मात्रामा उब्जाउ गरिन्छ । पानीसँगै यसमा प्रशस्त मात्रामा फाइबर पनि हुन्छ । यो आन्द्राका लागि फाइदाजनक छ । यसले कब्जियतको समस्याबाट बचाउँछ । १०० ग्राम खरबुजामा ३४ किलो क्यालोरी हुन्छ । यसको पोषण स्कोर ५० दिइएको छ ।
६.बन्दा/ब्रोकाउली
बन्दा र ब्रोकाउली पनि स्वास्थ्यका लागि धेरै फाइदाजनक छन् । नेपालमा बन्दाकोपी प्रशस्त मात्रामा उब्जाउ गरिन्छ । र, ब्रोकाउली एक विदेशी तरकारी भए पनि नेपालमा पनि यो उब्जाउ हुन थालेको छ । भारतबाट पनि आयत हुन्छ । तर यसको रङ गाढा हरियो छ । तर, ब्रोकाउलीमा धेरै साना कीराहरू लुकेर बस्छन् । त्यसैले राम्रोसँग केलाएर मात्र खानुपर्छ । एक अनुसन्धानका अनुसार अमेरिकामा ब्रोकाउलीको माग पछिल्लो ५० वर्षमा पाँच गुणा बढेको छ ।
७.गाँजर
गाजँरलाई स्वास्थ्यको लागि रामबाण औषधि मानिन्छ । जाडोमा यी धेरै कम मूल्यमा जताततै पाइन्छ । यसको विशेषता यो हो कि यसलाई काँचो खान सकिन्छ वा तरकारी वा अन्य केही बनाउन सकिन्छ । गाजरको बारेमा भनिन्छ कि यो पहिलो पटक एघार सय वर्ष पहिले अफगानिस्तानमा उब्जाइएको थियो । त्यसपछि विश्वका अन्य भागहरूमा यसको खेती सुरुभयो । १५०० ईस्वीमा, युरोपका मानिसहरूले सुन्तला गाजर खेती गर्नथाले। धेरै देशहरूमा बैजनी रङको गाजँर पनि उब्जाउ गरिन्छ । गाजरमा फाइबर, भिटामिन ए र आइरन प्रशस्त मात्रामा पाइन्छ । यो रगत सफा राख्न पनि उपयोगी छ ।
८.सिमी
कोलेस्टेरोलको समस्या हटाउन केराका तरकारीले सहयोग गर्छ । सिमी धेरै प्रकारका हुन्छन् । सिमी, कालो आँखा भएको मटर, वा फ्रेन्च सिमी। ती सबै शरीरमा जम्मा भएको कोलेस्टेरोल कम गर्न मद्दत गर्छन् ।
९.अदुवा
हाम्रो भान्सामा व्यापक रूपमा प्रयोग हुने अदुवा जडीबुटी अन्तर्गत पर्छ । यसलाई मसलाको रूपमा प्रयोग गरिन्थ्यो। थरीथरीका अचारमा यो मिसाउदा स्वाद फरक हुन्छ । अदुवामा प्रशस्त मात्रामा एन्टि–अक्सिडेन्ट हुन्छ। यी शरीरका लागि धेरै फाइदाजनक छन् । अदुवामा धेरै आयुर्वेदिक औषधिहरूमा पनि प्रयोग गरिन्छ । घाँटी दुख्ने वा चिसो हुने अवस्थामा यसको प्रयोग फाइदाजनक हुन्छ । अदुवा शरीरबाट पेट फुल्ने समस्या कम गर्न पनि उपयोगी हुन्छ । यसको प्रयोगले पाचन क्षमतामा सुधार ल्याउँछ ।
१०.अंजीर
अंजीर प्राचीन फलफूल मध्ये एक हो । यसलाई सुकाएर सुख्खा फलको रूपमा खाइन्छ । साथै, काँचो र ताजा अंजीरलाई फलको रूपमा खान सकिन्छ । यसमा म्याङ्गनीज नामक तत्व ठूलो मात्रामा पाइन्छ । यी पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छन् । यदि अंजीर काँचो खाइयो भने, यसले बढी फाइदा पुर्याउँछ ।
यी सबै खानेकुरा टन्न खाएर हुँदैन । स्वस्थ रहन कम खाने तर सन्तुलित खानुपर्छ । प्राय महिलामा आइरनको कमी भएको पाइन्छ । महिलाहरुले आइरनले भरिपूर्ण पोषकतत्व खानुपर्छ । साथै, अर्को कुरा भनेको जति पनि हामीले खाने फलफुल, तरकारी होस् वा अन्य खानेकुरा सधैं सफा र ताजा खानुपर्छ ।




