खाने तेलमा सरकारले तोक्यो नयाँ मापदण्ड

काठमाडौं, असोज ४ – नेपाली बजारमा उपलब्ध खाने तेलको गुणस्तर, शुद्धता र उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सरकार केही कडा नियम लागू गर्ने तयारीमा जुटेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागले तोरी, भटमास र सूर्यमुखी तेलको लागि नयाँ गुणस्तर मापदण्डको मस्यौदा तयार गरेको छ ।
यो नयाँ मापदण्डमा खाने तेललाई सिधै खान मिल्ने र नमिल्ने गरी स्पष्टसँग वर्गीकृत गरिएको छ । उपभोक्तालाई भ्रममा पार्ने विज्ञापन र एक पटक प्रयोग भइसकेका कन्टेनरको पुनः प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको छ ।
तोरीको तेलको मापदण्ड ‘नेपाल गुणस्तर ०३ : २०३५ (दोस्रो संशोधन : २०८३)’ को माध्यमबाट तयार गरिएको छ । यो मापदण्ड अनुसार तोरीको तेल उत्पादन प्रक्रियाका आधारमा ‘एक्स्प्रेस’ र ‘सल्भेन्ट–एक्सट्र्याक्टेड’ गरि दुई भागमा बाँडिएको छ । एक्स्प्रेसबाट निकालिएका सबै (रिफाइन्ड, भर्जिन, एक्स्पेलर) र सल्भेन्ट प्रक्रियाको ‘रिफाइन्ड’ तेल सिधै खान योग्य मानिन्छ ।
भटमास तेलको मापदण्ड ‘नेपाल गुणस्तर १०३ : २०४२ (पहिलो संशोधन : २०८३)’ अनुसार तयार गरिएको छ । यसमा सल्भेन्ट एक्स्ट्र्याक्सन प्रक्रियाबाट निकालिने तेललाई ‘रिफाइन्ड’, ‘डिगम्ड’ र ‘ग्रेड-१’ मा विभाजन गरिएको छ, जसमा रिफाइन्ड तेल मात्र सिधै खान योग्य मानिन्छ। डिगम्ड र ग्रेड-१ तेललाई खुद्रा प्याकेटमा बेच्न निषेध गरिएको छ ।
सूर्यमुखी तेलको मापदण्ड पनि पहिलो संशोधनको मस्यौदा तयार गरेर विभागले व्यवस्थापन गरेको छ । यसमा एक्स्प्रेस र सल्भेन्ट एक्स्ट्र्याक्टेड गरी दुई प्रकार सँगै दुवै प्रकारका रिफाइन्ड तेल सिधै खान योग्य हुनेछन् । विभागले नयाँ मापदण्ड अनुरूप भ्रामक विज्ञापनलाई पूर्णरूपमा रोक लगाउने योजना बनाएको छ । प्याकेजिङका लागि नेपाल गुणस्तर प्रमाणित टिन वा प्लास्टिकका कन्टेनर मात्र प्रयोग गर्नुपर्नेछ ।
यस मापदण्डले पुराना कन्टेनरको पुनः प्रयोग गर्न निषेध गरेको छ । उत्पादकहरूले आफ्नो जानकारी स्पष्ट रूपमा कन्टेनरमा उल्लेख गर्नुपर्नेछ । मापदण्ड पूरा गर्ने उत्पादकहरूले मात्र नेपाल गुणस्तर प्रमाण चिह्न प्रयोग गर्न पाउनेछन् । यो व्यवस्था नेपाली बजारमा शुद्धता सुनिश्चित गर्दै उपभोक्ताको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।




