फुड सप्लिमेन्टको खपत बढ्दो नेपालमा

७ असार, काठमाडौं । खानाबाट मात्रै नपुगेपछि शरीरलाई आवश्यक पर्ने भिटामिन र मिनरल लगायतका विभिन्न तत्वको मात्रा अतिरिक्त सेवन गर्ने नेपालीहरुको संख्या बढ्दै गएको पाइएको छ ।
फुड सप्लिमेन्टको रुपमा विश्वभर प्रयोग हुने प्रोटिन, भिटामिन, क्याल्सियम, कार्बोनेट, कार्बमेट लगायतका पदार्थको खपत नेपालमा बढ्दै गएको भन्सार विभागले जनाएको छ । आर्थिक वर्ष ७४/७५ मा नेपालमा फुड सप्लिमेन्ट आयातको कुनै विवरण नभएपनि पछिल्लो दुई आर्थिक वर्षमा २ लाख ९४ हजार किलो भन्दा धेरै यस्ता सामाग्री नेपाल भित्रिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।आर्थिक वर्ष ७५/७६ मा ४ करोड ३५ लाख ३९ हजार रुपैयाँ बराबरको २८ हजार ९ सय २२ किलो यस्ता खाद्य पदार्थ नेपाल भित्रिएको थियो । चालु आवमा ३१ करोड ५७ लाख १९ हजार रुपैयाँ बराबरको फुड सप्लिमेन्ट नेपालले आयात गरेको विभागले जनाएको छ ।
खान-पान, काम तथा विभिन्न शारीरिक अभ्यासका कारण शरिरलाई नपुग्ने अतिरिक्त खाद्य पदार्थको प्रयोग बढ्दै गएको उक्त पदार्थको नियमन गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । नेपालमा आयात हुने यस्ता २१ सय उत्पादनहरु दर्ता भएको विभागका सूचना अधिकारी एवं वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले जानकारी दिए । खाद्य विज्ञ तथा चिकित्सकको सिफरिसमा नेपालमा यस्ता पदार्थहरु बिक्रि वितरण हुँदै आएको छ । औषधि जस्तै संरचनामा झोल, पाउडर, क्याप्सुल लगायतका आकारमा फुड सप्लिमेन्ट बजारमा पाइन्छ । सन्तुलित भोजनको अभावले शरीरमा भिटामिन, मिनरल नपुगेका मानिस, कामको चापले घाममा ननिस्कनेहरु तथा रोगका कारण शरीरले त्यस्ता पदार्थ ग्रहण नगर्ने अवस्थामा नेपालीहरुले यस्तो पदार्थ खपत गर्ने गरेको विभागको खाद्य अनुसन्धान अधिकृत बताउँछन् ।
तर सन्तुलित भोजन खानेका लागि यस्ता पदार्थको प्रयोग जरुरी नरहने विज्ञहरुको भनाइ छ ।




