विश्वको जीडीपी १० प्रतिशतसम्म घट्ने डब्लूटीओको चेतावनी

विश्व व्यापार संगठन (डब्लूटीओ)ले चेतावनी दिएको छ कि यदि विश्वव्यापी व्यापार प्रणालीलाई अद्यतन गर्न नसकिएमा, सन् २०५० सम्म विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १० प्रतिशतसम्म घट्न सक्छ ।
डब्लूटीओको हालै प्रकाशित ‘विश्व व्यापार प्रतिवेदन २०२६: विश्व व्यापार प्रणालीका लागि निर्णायक मोड’ मा व्यापार नीति दशकौँयताकै जटिल र दीर्घकालीन चुनौतीहरूको सामना गरिरहेको उल्लेख छ । प्रतिवेदनले विगत ८० वर्षमा बहुपक्षीय व्यापार प्रणालीले हासिल गरेका सफलताहरू र वर्तमान चुनौतीहरूको समीक्षा गरेको छ । डब्लूटीओकी महानिर्देशक न्गोजी ओकोन्जो-इवेलाका अनुसार, बहुपक्षीय व्यापार प्रणालीले विश्व अर्थतन्त्रलाई अधिक एकीकृत र लचिलो बनाउन सहयोग पुर्याएको छ ।
उनले भने कि विश्वव्यापी वस्तु व्यापारको करीब ७२ प्रतिशत अझै पनि डब्लूटीओको ‘सबैभन्दा बढी प्राथमिकता प्राप्त राष्ट्र’ व्यवस्थाअन्तर्गत संचालित छ । विश्वव्यापी व्यापार परिदृश्यमा धेरै परिवर्तन आए पनि सहकार्य गर्दा सबै अर्थतन्त्रलाई फाइदा हुन्छ भन्ने मान्यता आज पनि उत्तिकै महत्त्वपूर्ण छ । डब्लूटीओ सदस्यहरूले सुधारका विषयमा सक्रिय रूपले छलफल गरिरहेको र वर्तमान अवस्था कायम राख्नु विकल्प नभएको उनी बताउँछन् ।
प्रतिवेदनले विश्व व्यापार प्रणालीका तीन सम्भावित भविष्य परिदृश्यहरू प्रस्तुत गरेको छ। बलियो बहुपक्षीय प्रणाली कायम रहेमा, २०५० सम्म विश्वको जीडीपी दुई दशमलव नौ प्रतिशतले र निर्यात १७ दशमलव नौ प्रतिशतले बढ्नसक्ने अनुमान गरिएको छ । तर यदि बहुपक्षीय व्यापार नियमहरू कमजोर भएर भू-राजनीतिक गुटमा आधारित व्यापारिक सहकार्य हुने अवस्था आयो भने, विश्वको जीडीपी पाँच दशमलव एक प्रतिशत र निर्यात १८ दशमलव छ प्रतिशतले घट्नसक्छ ।
यदि बहुपक्षीय सहकार्यलाई स्वतन्त्र व्यापार सम्झौताको सञ्जालले प्रतिस्थापित गरियो भने, विश्वको जीडीपी छ दशमलव नौ प्रतिशत र निर्यात २६ दशमलव नौ प्रतिशतले घट्नसक्छ । डब्लूटीओका प्रमुख अर्थशास्त्री रोबर्ट स्टाइगरका अनुसार, बलियो बहुपक्षीय सहकार्यमार्फत विश्वको वास्तविक जीडीपीमा १० प्रतिशतसम्मको अन्तर पर्ने सम्भावना छ ।
प्रतिवेदन अनुसार, आठ दशकभन्दा लामो समयदेखि बहुपक्षीय व्यापार प्रणालीले व्यापारिक अवरोध घटाउन, विश्वव्यापी व्यापार विस्तार गर्न र थप एकीकृत नियममा आधारित अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको छ । रासस




