सूचना प्रबिधि

फेसबुक मेसेन्जरमा स्क्रिन शेयरिङ फिचर

काठमाडौं । दिनहुँ लाखौँ मानिसले सोसल मिडिया साइट फेसबुकको मेसेन्जर सर्भिस प्रयोग गर्दछन् । गत अप्रिल महिनामा फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ६० करोड थियो । प्रयोगकर्ताहरुका लागि फेसबुकले लगातार नयाँ–नयाँ अपडेट ल्याउने गरेको छ । र, पछिल्लोपटक फेसबुकले आफ्नो मेसेन्जर एपमा एक महत्वपूर्ण फिचर थप गरेको छ । फेसबुक मेसेन्जरमा अब स्क्रिन शेयरिङ फिचर थपिएको छ ।

फेसबुकका अनुसार मेसेन्जर एपका एन्ड्रोइड तथा आइओएस प्रयोगकर्ताका लागि स्क्रिन शेयरिङको अप्सन प्राप्त गर्नेछन् । अहिलेसम्म यो फिचर केवल मेसेन्जरको वेब भर्सनमा मात्रै उपलब्ध थियो जुन अब एप भर्सनमा समेत रोलआउट भएको हो ।फेसबुकका अनुसार फेसबुकको भिडियो कन्फ्रेन्सिङ सर्भिस ‘मेसेन्जर रुम्स’ मा पनि यो फिचर उपलब्ध हुनेछ । यसबाट मेसेन्जर रुम्सले माइक्रोसफ्ट टिम्स र जूमलाई टक्कर दिनसक्ने अपेक्षा गरिएको छ ।

कोरोना भाइरस महामारीका कारण विश्वमा भिडियो कन्फ्रेन्सिङ लगायतका भर्चुअल मिटिङहरुको बढ्दो प्रयोगसँगै त्यस्ता डिजिटल प्लाटफर्महरुमा स्क्रिन शेयरिङ फिचरको अत्यावश्यक बनिसकेको छ । कुनै अफिसियल प्रिजेन्टेसन शेयर गर्नेदेखि लिएर शिक्षकहरुका लागि कुनै भिडियो वा भर्चुअल पठनपाठनका क्रममा समेत स्क्रिन शेयरिङ आवश्यक हुने गर्दछ । नयाँ फिचरको सहयोगले अब प्रयोगकर्ताले आफ्नो फोनको स्क्रिनलाई मेसेन्जरका जोकोहीसँग शेयर गर्न सक्नेछन् । नयाँ अपडेटसँगै यो फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ ।

मेसेन्जर एपमा यो नयाँ फिचर वन–टु–वन भिडियो कलका साथै आठजनासम्मको ग्रुप भिडियो कलिङका क्रममा पनि प्रयोग गर्न सकिनेछ । यसका लागि प्रयोगकर्ताले मेसेन्जर एपमा लगइन गरेर एप खोलेसँगै कसैलाई भिडियो कल गर्नुपर्ने हुन्छ । कल जोडिएसँगै स्क्रिनको पिँधमा रहेको ट्याबमा शेयर योर स्क्रिन नामक अप्सन देखिनेछ । त्यसमा ट्याप गरेपछि तपाईंसँग भिडियो कलमा जोडिएको मेसेन्जर प्रयोगकर्ताले तपाईंको स्मार्टफोनको स्क्रिन देख्न सक्नेछ ।–एजेन्सीको सहयोगमा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>