राजनीति

पार्टी विभाजनमा नजान दुई अध्यक्षबीच बार्ता हुनुपर्छः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई विभाजनमा जान नदिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि एकपटक अर्का अध्यक्ष केपी ओलीसँग संवाद गर्नुपर्ने बताएका छन् । सोमबार बिहान आफ्नै निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टीभित्र देखिएको मतभिन्नतालाई अन्त्य गरी एकतालाई कायम राख्न पनि अध्यक्ष प्रचण्डले नै संवादका लागि पहल गर्नुपर्ने बताएका हुन् ।

आइतबार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीसँगको भेटवार्तामा भएको कुराकानीको ब्रिफिङ गरेपछि आफूहरुले पार्टी एकतालाई कुनैपनि अवस्थामा बचाउन फेरि एकपटक संवाद गर्नुपर्ने सुझाव दिएको बताए । नेपालको राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गर्दै समाजिक न्याय सहितको समृद्ध नेपाल बनाउने आधार तयार पार्न र समाजवादसम्म पुग्नका लागि पनि एकता कायम हुनुपर्ने प्रवक्ता श्रेष्ठले बताए । उनले भने– ‘हामीले के भन्यौं भने हामीले ठूलो मेहनेत गरेर पार्टी एकता गरेको हो ।

नेपालको राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गर्ने, समाजिक आर्थिक रुपान्तरण गर्ने, समाजिक न्याय सहितको समृद्ध नेपाल बनाउने, समाजवादको अधार तयार पार्ने र अन्ततः समाजवादमा जाने उद्देश्यले पार्टी एकता गरिएको हो । त्यसैले ख्यालख्यालमै पार्टी फुटको दिशातिर जान हुन्न् । हामीले पार्टी एकताको रक्षा गर्न पहल नै गर्नुपर्छ । प्रयत्न नै गर्नुपर्छ । त्यसकारणले अध्यक्ष प्रचण्डले फेरि एकचोटी अध्यक्ष केपी ओलीसँग कुराकानी गर्नुहोस्, बैठक बसौं भनेर बैठक राख्ने नै प्रयत्न गरौं । बैठक राखेर सबै पाटापक्षमा छलफल गरौं, खुला ढंगले छलफल गरौं र पार्टी एकताको निम्ति प्रयत्न जारी राखौं, पार्टी एकता कायम गर्नैपर्छ त्यसको निम्ति पहल गरौं भनेर हामीले भनेका हौं । त्यसपछाडि उहाँहरुको कुराकानी भएको स्थिति छैन् ।’

प्रवक्ता श्रेष्ठले आइतबार साँझ आफूहरुसँग भएको ब्रिफिङ पछि अहिलेसम्म अध्यक्ष प्रचण्ड र ओलीबीच कुनै संवाद हुन नसकेको पनि बताए । आइतबार साँझको ब्रिफिङमा अध्यक्ष प्रचण्डले दुई अध्यक्षबीचको संवादमा अध्यक्ष ओलीले अब कुनै पनि कमिटीको बैठक गर्नुको औचित्य नरहेको भन्दै सल्लाहमै औपचारिक रुपमै अलग भएर काम गरौं भन्ने प्रस्ताव राख्नुभएको बताउनुभएको प्रवक्ता श्रेष्ठले बताए । विभिन्न सञ्चारमाध्यमहरुमा आएजस्तो प्रधानमन्त्री ओलीले अब सँगै अगाडी बढ्न नसक्ने भनी दिनुभएको अभिव्यक्ति साँचो रहेको पनि स्पष्ट पारे । उनले अध्यक्ष ओलीले अध्यक्ष प्रचण्डलाई पार्टीका कुनैपनि कमिटीको बैठक नमान्ने बताउँदै सल्लाह गरेरै अलग–अलग हुन प्रस्ताव गरेको कुरा साँचो रहेको बताए ।

उनले भने– ‘अध्यक्ष प्रचण्डले हामीलाई जानकारी दिनुभएअनुसार अर्का अध्यक्ष केपी शर्माओलीले बैठकको केही काम छैन, बैठक बसेर के गर्ने भनेर भन्नुभयो र बैठक बस्न अस्वीकार गर्नुभयो भनेर सुनाउनुभयो । बैठक किन बस्ने काम छैन भन्दा बैठकको निर्णय त मान्दै मान्दिन तपाईहरुले बहुमतले निर्णय गरेर हुन्छ ? केन्द्रीय कमिटीबाट निर्णय गर्नुस्, स्थायी कमिटीबाट निर्णय गर्नुस्, सचिवालयको निर्णय गर्नुस् तर बहुमतले गरेको निर्णय म मान्दिन । भनेपछि तपाईहरुले बैठक गरेर के गर्नुहुन्छ ? यति भन्दाभन्दै पनि तपाईहरुले आफ्नै तर्फबाट बैठक बोलाउनुभयो भने बैठक बोलाउना साथै म ठूलो अर्को एक्सन लिन्छु त्यसको सामना गर्न तपाईहरु तयार हुनुहोस् । अथवा सल्लाह गरेर अलग–अलग होऔं । अब एकैठाउँ बस्न सकिन्न भनेर भन्नुभएको कुरा हामीलाई जानकारी गराउनुभएको थियो ।’

प्रवक्ता श्रेष्ठले पार्टी एकता ठूलो मेहनत गरेर र क्रान्तिकारी उद्देश्यलाई केन्द्रविन्दुमा राखेर गरिएकाले यसलाई अहिले नै विफल हुन र फुटको स्थिति उत्पन्न हुन नदिन सबै नेता कार्यकर्ताले पहल गर्नुपर्ने बताए । पार्टी एकता कायम गर्नको निम्ति पार्टीलाई विधि र पद्धतिमा चलाउने र पार्टीको निर्णय सबैले मान्दै कार्यान्वयनमा जाने हो भने पार्टी एकता जोगिने पनि उनले बताए । पार्टीभित्र अहिले औपचारिक रुपमा वैचारिक, सैद्धान्तिक राजनीतिक बहस शुरु भइनसकेको अवस्थामा सबैले पार्टीको निर्णय मान्नुपर्नेमा उनले जोड दिए । सबैले आ–आफ्नो पक्षबाट आत्मआलोजना गर्दै पार्टीको निर्णय मान्ने र कार्यान्वयनमा गए पार्टी एकता बलियो हुनेपनि उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>