अविश्वासको प्रस्ताव अगाडि बढाउन देउवा सहमत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन गर्न प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव आउने भएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस अन्ततः अविश्वासको प्रस्ताव अगाडि बढाउन सहमत देखिएको छ । बुधबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित बैठकमा अविश्वासको प्रस्ताव दर्ता गराउन नेताहरु एकमत भएका छन् । बैठकमा सहभागी नेता गोपालमान श्रेष्ठले ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन नेताहरु एकमत भएको रातोपाटीलाई जानकारी दिए । श्रेष्ठले भने, ‘७ गते संसद बोलाएको अवस्थामा ६ गते नै चालु अधिवेशन अन्त्य गरिएको छ, यो बेइमानी काम भयो । तर, प्रक्रियागतरुपमा अविश्वासको प्रस्ताव दर्ता गराइन्छ । त्यसको तयारी भइरहेको छ । अविश्वासको प्रस्ताव दर्ता गराउने विषयमा पार्टी एकमत नै छ ।’ यसअघि काँग्रेसको संस्थापन पक्ष अविश्वासको प्रस्ताव अगाडि बढाउने पक्षमा थिएन । काँग्रेस उच्च स्रोतका अनुसार बुधबारको बैठकमा भने सभापति शेरबहादुर देउवाले दुई/तीन दिनभित्रको राजनीतिक घटनाक्रम हेरेर अविश्वासको प्रस्ताव अगाडि बढाउन तयार रहेको बताए ।
बैठकमा काँग्रेस नेताहरुले आगामी राजनीतिक घटनाक्रमबारे विश्लेषण गरेका थिए । दुई–तीन दिनमै एमालेमा ओली पक्ष र खनाल–नेपाल पक्षबीचको संघर्षले पनि प्रष्ट दिशा लिने बूढानीलकण्ठ बैठकको विश्लेषण छ ।प्रधानमन्त्री ओली र खनाल–नेपाल पक्ष ‘वार–पार’हुने गरी मैदानमा उत्रिएको विषयलाई पनि काँग्रेस नेताहरुले चासोका साथ लिएको पाइएको छ । विभाजनको डिलमा पुगेको एमालेमा एक अर्काको तेजोवध गर्ने ओली र खनाल–नेपालको रणनीतिले नयाँ सरकार निर्माणका लागि सहजता प्रदान गर्ने काँग्रेसको बुझाइ छ । यस्तै, काँग्रेसले जनता समाजवादी पार्टी (जसपा)भित्रको मतभेदलाई पनि नजिकबाट नियालिरहेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोमा बढ्दो ओली मोहले पार्टी विभाजनको खतरा पैदा भएको छ । सो पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई भने ओलीसँग जानुभन्दा पार्टी विभाजन गरेरै भए पनि नयाँ सरकार बनाउन तयार रहेको पाइन्छ ।
काँग्रेस बैठकमा यस विषयमा पनि गहिरो विश्लेषण भएको स्रोतको दाबी छ । माओवादी केन्द्रले काँग्रेससँगको समन्वयमै वर्तमान सरकारबाट समर्थन फिर्ता लिने बुझिएको छ ।सोहीअनुसार बुधबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकले समर्थन फिर्ताको अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको नेता देवेन्द्र पौडेलले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘विश्वासको मत फिर्ता लिने र अविश्वासको प्रस्ताव दर्ता गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएका छौं ।’पौडेलका अनुसार समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता सँगसँगै गरिने छ । अब प्रचण्डले छिट्टै काँग्रेस नेतृत्वसँग निर्णायक छलफल गर्ने उनको भनाइ छ । ‘परिस्थिति राम्रो बन्दै छ । कुरा हुँदैछ । जसपाले संस्थागत निर्णय लिन सकेको छैन । अब जसपा विभाजन भएर पनि नयाँ सरकार बन्ने प्रसङ्ग चलेको छ,’ पौडेलले भने । बुधबारको स्थायी कमिटी बैठकमा प्रचण्डले सोही अनुसारको बिफ्रिङ गरेको पौडेलको भनाइ थियो ।
आजसम्मको घटनाक्रमले काँग्रेसको नेतृत्वमा सरकार बन्ने परिस्थिति निर्माण भइरहेको काँग्रेस पदाधिकारी बैठकको निष्कर्ष छ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सत्ता समीकरणका लागि वातावरण अनुकुल बन्दै गएको रातोपाटीलाई सुनाए ।उनले भने, ‘नेपाली काँग्रेसले केपी ओली सरकारको बहिर्गमनका लागि प्रयास गरिरहेको छ । त्यसका लागि सबैसँग छलफल पनि भइरहेको छ । परिस्थिति हाम्रो अनुकुल बन्ने विश्वास छ ।’ ओलीविरुद्ध अब अविश्वासको प्रस्ताव ल्याउन ढिलो गर्न नहुने भन्दै त्यसको तयारी भइरहेको पौडेलको भनाइ थियो । काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि अविश्वासको प्रस्ताव अगाडि बढाउन सभापति देउवा सकारात्मक देखिएको बताए । यस विषयमा पदाधिकारी बैठकबाहेक देउवासँग बुधबार नै आफूले छुट्टै वार्ता गरेको सिटौलाले सुनाए ।‘सभापतिजीसँग आज मैले वान टू वान कुराकानी पनि गरेको थिएँ । अविश्वासको प्रस्ताव दर्ताका विषयमा केही सकारात्मक देखिनुभएको छ,’ उनले भने, ‘सभापतिजी अविश्वासको प्रस्ताव दर्ता गर्ने पक्षमा पाएँ ।’
सिटौलाका अनुसार नयाँ सरकार निर्माण गर्ने कुरामा देउवाभित्र पहिलेको तुलनामा बढी हुटहुटी देखिएको छ ।




