राजनीति

ओली सरकारमा नजाने, आफ्नै नेतृत्वमा सरकार : जसपा

४ जेठ, काठमाडौं । दुई खेमामा विभाजित जनता समाजवादी पार्टी (जसपा) मा नयाँ सहमति जुटेको छ ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच तत्काल सरकारमा नजाने, तर राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा नयाँ सरकार बन्ने अवस्थामा सरकार गठनमा अगाडि बढ्ने सहमति भएको छ । यादव पक्ष नयाँ सरकार गठनको पक्षमा भएपनि ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक थिए । प्रधानमन्त्रीले विश्वासको मत लिँदा तटस्थ बसेको ठाकुर पक्षले नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसलाई पनि साथ दिएन ।यही विवादका कारण पार्टीको कार्यकारिणी समिति बैठकसमेत बस्न सकेको थिएन । तर पछिल्लो तीन दिनयता सहमतिका लागि प्रयास तीव्र भएको थियो ।

ठाकुर र यादवबीच सम्वाद भएको थियो भने तत्कालीन राजपाबाट मनिष सुमन, मृगेन्द्र यादव तथा समाजवादी पार्टीबाट रेणु यादव, मोहम्मद इस्तियाक राई, प्रकाश सिंह र गंगानारायण श्रेष्ठ लगायतका नेताले दुई अध्यक्षलाई सहमतिमा ल्याउन भूमिका खेलेका थिए । त्यसक्रममा ठाकुर पक्ष तत्काल सरकारमा नजान सहमत भएको छ भने यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा निर्णयहरु नगर्ने भएको छ । अध्यक्षद्वय ठाकुर र यादवले संयुक्त वक्तव्य जारी गर्दै तत्काल सरकारमा नजाने प्रष्ट पारेका छन् । यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले अब संसदमा विश्वासको मत लिन जाँदा जसपाको साथ नपाउने पक्का भएको छ ।

संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई राष्ट्रपतिले ३० वैशाखमा संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए । ३१ वैशाखमा शपथ लिएका प्रधानमन्त्री ओलीले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्छ । जसपाका अध्यक्षद्वयले जारी गरेको वक्तव्यमा ‘राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वको सरकार बन्ने अवसर प्राप्त हुनसक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ’ भनिएको छ । जसपाका नेताहरुका अनुसार यो अभ्यास ७६ (३) का प्रधानमन्त्रीले संसदमा विश्वासको मत नपाएपछि हुनेछ । हालै मात्र जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पूर्व प्रधानमन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको प्रस्ताव राखेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>