अर्थ खबर

ज्येष्ठ नागरिकको भत्ता मासिक ४ हजार पुग्यो

१५ जेठ, काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ ।

शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएका हुन् । उनका अनुसार सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको छ । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए । बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ ।

अनाथ, दलित, अपाङ्गता भएका र विपन्‍न परिवारका बालबालिकालाई प्रदान गरिने बाल संरक्षण अनुदानको रकममा एक तिहाई वृद्धि गरिएको छ । तत्कालीन एमाले सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वर्ष २०५१/५२ को बजेटमा पहिलो पटक बृद्धभत्ताको नीति सुरु गरेका थिए । त्यसबेला बृद्धभत्ता पाउने उमेर ७५ वर्ष तोकिएको थियो र मासिक भत्ता जम्मा सय रुपैयाँ थियो । पछिल्ला वर्षहरुमा बृद्धभत्ता चुनावी गोटी बनेको भन्दै अर्थविद्हरुले चिन्ता व्यक्त गर्दै आएका थिए ।

२०७४ को आम चुनाव अगाडि वाम गठबन्धनले ५ हजार पुर्‍याउने उल्लेख गरेको थियो भने नेपाली कांग्रेस नेतृत्वको सरकारले बृद्धभत्ता पाउने उमेर ७० बाट घटाएर ६५ मा झार्ने प्रस्ताव गरेको थियो । तर उमेर घटाउने निर्णय कार्यान्वयनमा आएन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सुरुका दुई वर्ष बृृद्धभत्ता बढाएन । तर प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा बृद्धभत्ता बढ्ने घोषणा गरेपछि तत्कालीन अर्थमन्त्री युवराज खचिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेटमा वृद्धभत्ता एक हजार बढाएर ३ हजार पुर्‍याएका थिए । यो वर्षपनि त्यही भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>