अर्थ खबर

साउनमा लक्ष्यभन्दा बढी राजश्व

कैलालीस्थित भन्सार कार्यालय र आन्तरिक राजश्व कार्यालयले आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यभन्दा बढी राजश्व उठाउन सफल भएका छन् । सत्ती भन्सार कार्यालय खक्रौला, कैलाली भन्सार कार्यालय धनगढी र आन्तरिक राजश्व कार्यालय कैलालीमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको हो ।

सत्ती भन्सार कार्यालय खक्रौलामा साउन महिनाको राजश्व लक्ष्यभन्दा ५७५ प्रतिशत बढी असूली भएको छ । भन्सारले साउनका लागि रु ३६ लाख ३९ हजार राजश्व उठाउने लक्ष्य राखेकोमा रु दुई करोड नौ लाख १४ हजार सङ्कलन भएको भन्सार प्रमुख रामराजप्रसाद चौरसियाले जानकारी दिए । ‘‘भन्सार छली, चोरी पैठारी कम भएको छ’’, भन्सार अधिकृत चौरसियाले भने, ‘‘दुई किलोमिटरमा सशस्त्र प्रहरी र भन्सारमा २४ सै घण्टा नेपाल प्रहरीको निगरानीले राजश्व सङ्कलन बढेको हो ।’’ चौरसियाले नाकामा खुलारुपमा आवतजावत बन्द भएपछि आवश्यक सामान भन्सारकै बाटो आउने गरेकाले राजश्व वृद्धिमा थप सहयोग पुगेको बताए ।

दुई वर्षअघि स्तरोन्नति भएको सत्ती भन्सारले गत आवभरिमा रु पाँच करोड ८० लाख ७ हजार मात्रै राजश्व उठाएको थियो । यस वर्ष रु ६ करोड सात लाखको लक्ष्य राखेको छ । ‘‘साउन महिनामा भन्सारबाट चामल धेरै निर्यात भएको छ’’, चौरसियाले भने, ‘‘यसपटक कपडा, मोटर पार्टस् र हार्डवेयरका सामान धेरै आएका छन् जसले राजश्व बढेको छ । प्रहरी, प्रशासनको यस्तै सहयोग रहे तीन महिनामै वार्षिक लक्ष्य पूरा गर्न सक्छौँ ।’’ कैलाली भन्सार कार्यालयले पनि पहिलो महिनामा लक्ष्यभन्दा बढी राजश्व उठाएको छ । साउन महिनामा रु ४८ करोड ३२ लाख राजश्व उठाउने लक्ष्य राखिएकोमा रु ५७ करोड ७२ लाख राजश्व उठेको भन्सार अधिकृत डिल्लीराज शर्माले जानकारी दिए ।

लामो समयको लकडाउनले रोकिएको आयात बढेकाले राजश्व २० प्रतिशतले बढेको उनले भने, ‘‘यो अवधिमा चामल, गहुँ, पापड भुजिया, दालमोठ जस्ता खाद्य वस्तुको आयात धेरै भएको छ ।’’ यस्तै आन्तरिक राजश्व कार्यालय कैलालीले पनि साउन महिनामा लक्ष्यभन्दा २६ प्रतिशत बढी राजश्व उठाएको छ । साउनका लागि रु ५५ करोड २१ लाख ८२ हजार लक्ष्य राखेकामा रु ६९ करोड ५२ लाख ७८ हजार राजश्व सङ्कलन भएको प्रमुख कर अधिकृत चन्द्रकुमार श्रेष्ठले जानकारी दिए । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>