प्रवास
जापान प्रवेशआज्ञा रोकिँदा १० हजार विद्यार्थी प्रभावित, कूटनीतिक पहलको अनुरोध
![](https://mbkhabar.com/wp-content/uploads/2021/09/istockphoto-1131743616-612x612-1-612x405.jpg)
काठमाडौँ, जापानको प्रवेशआज्ञा (भिसा) पाएर पनि कोभिड–१९ का कारण जान रोकिएका विद्यार्थीले अध्ययनका लागि जान दिन कूटनीतिक पहल गर्न सरकारलाई अनुरोध गरेका छन् ।
प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्ती र शिक्षा सचिव रामप्रसाद थपलियालाई भेटेर विद्यार्थीले जापानी दूतावाससँग संवादमार्फत समाधान खोज्न अनुरोध गरेका हुन् । विद्यार्थीले आफूहरू स्वास्थ्य मापदण्डको पालना गरेर जान पाउनुपर्ने बताएका छन् ।कोभिड–१९ सङ्क्रमण बढीरहँदा जापान सरकारले सन् २०२० अप्रिलमा विद्यार्थीलाई प्रवेश गर्न रोकेको थियो ।
जापानका लागि प्रवेशआज्ञा रोकिँदा झण्डै १० हजार विद्यार्थी प्रभावित भएको पीडितले बताएका छन् । प्रवेश आज्ञा पाइसकेकामध्ये कतिपयको कागजात दूतावासमा रहेको आरके पोखरेलले जानकारी दिनुभयो ।