प्रदेश १समाचार

उदयपुरमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु हुने

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरगढीबाट नगरको वडा नं ५ सिमसार क्षेत्रसम्मको लागि प्याराग्लाइडिङ उडान सुरु भएको हो।

शुक्रबार र शनिबार सो क्षेत्रमा दुई दिनसम्म नियमित उडान परीक्षण गरेर सफल भएपछि अब व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु गर्न लागिएको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए। कटारी नगरपालिकाको सहयोग र गडिकोट प्याराग्लाइडिङ समितिको आयोजनामा व्यावसायिक प्याराग्लाइडिङ उडान सफल भएपछि अब गडिकोट पर्यटन विकास समितिको लगानी र कटारी नगरपालिकाको सहयोगमा यस क्षेत्रमा नियमित प्याराग्लाइडिङ उडान सुरु गर्न लागिएको नगरपालकाले जनाएको छ।यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि नियमित प्याराग्लाइडिङ उडान गर्न यहाँका उत्साहित युवालाई पोखरामा लगेर यस सम्बन्धी विशेष तालिमको व्यवस्था गरिएको छ । पोखराका केही प्राविधिकको सहयोगमा प्याराग्लाइडिङ उडान सुरु गर्न लागिएको बताइएको छ।

व्यावसायिक उडान सुरु भएपछि यसमा रमाउने यहाँका बासिन्दा यसप्रति आकर्षित हुने विश्वास लिइएको छ। कटारी नगरपालिका, प्रदेश नं १ सरकार र गडिकोट पर्यटन विकास समितिको रु पाँच करोडको लगानीमा प्याराग्लाइडिङ उडान सुरु गरिएको छ। यो खेलको विकास तथा विस्तारका लागि डिपिआर तयार गरिएको कटारी नगरपालिकाका प्रमुख श्रेष्ठले बताए। कटारी–५ को सिमसार तथा तालतलाउ र जङ्गल क्षेत्रमा झण्डै ४० प्रजातिका चरा पाइने र विभिन्न प्रकारका जङ्गली जनावारसमेत पाइने हुनाले सो क्षेत्रमा गडिकोट क्षेत्रबाट प्याराग्लाइडिङ उडान गरेर पर्यटक भित्र्याउनका लागि प्याराग्लाइडिङ उडान सुरु गरिन लागेको कटारी नगरपालिकाले बताएको छ।

कटारी नगरपालिका–५ स्थित जङ्गल क्षेत्रमा रहेको सिमार क्षेत्र र मर्जेतपुर गडिकोट क्षेत्र नौ किलोमिटर दूरीको माथिल्लो पहाडी क्षेत्रमा अवस्थित छ। कटारी बजारबाट पर्यटक सिधँै मर्जेतपुरगढी क्षेत्र पुगेर प्याराग्लाइडिङमार्फत सिमासार क्षेत्रमा झर्नसक्ने र त्यहाँबाट सिमासार क्षेत्रको अवलोकन गर्न सक्ने गरी प्याराग्लाइडिङ उडान सुरु गर्न लागिएको कटारी नगरपालिकाले जनाएको छ। मर्जेतपुर गढी क्षेत्रबाट सिमासार क्षेत्रसम्म उडान गरेर झर्न नौ किलोमिटरको दूरी पार गर्नुपर्ने र यसमा कुनै पनि समस्या नदेखिएकाले प्याराग्लाइडिङ उडान सफल हुने प्याराग्लाइडिङ प्राविधिक तथा क्याप्टेन दिलकुमार सुनुवारले बताए।

त्यहाँ भएको नियमित उडान परीक्षणमा कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले आफै प्याराग्लाइडिङमा उडेर उद्घाटन गर्नुभएको कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतले बताए।-रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>