समाचार

भाटभटेनीलाई ठगी गरेको आरोपमा साढे दुई लाख जरिवाना

काठमाडौं, १२ पुस। बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको भाटभटेनी सुपर मार्केटलाई उपभोक्ता ठगी गरेको आरोपमा साढे दुई लाख रुपैयाँ जरिवाना गरिएको छ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलको नेतृत्वमा रहेको अनुगमन टोलीले अनुगमनपश्चात सुपर मार्केटलाई दुई लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको हो। अनुगमन टोलीले मंगलबार गरेको अनुगमनका क्रममा उपभोक्तालाई झुक्याएर ठगी गरेको पाइएपछि कारबाही गरिएको सहायक प्रजिअ कँडेलले बताए। भाटभटेनी सुपर मार्केटको हेटौँडा आउटलेटमा राखिएको उत्पादनको बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको, उत्पादन तथा उपभोग मिति उल्लेख नगरिएको चिनी र पुनः प्याकिङ गरेका नुनका प्याकेटहरू बिक्रीका लागि राखिएको पाइएको उनले जानकारी दिए।

टोलीले पुनः प्याकिङ गरिरहेको अवस्थामा उत्पादन र उपभोग मिति उल्लेख नभएको चिनी, साल्ट ट्रेडिङ कर्पोरेसनको आयो नुन र उत्पादन मिति उल्लेख नभएको फेस माक्स बरामद गरेको थियो। त्यस्तै, न्यास्लेको कफीको उल्लेखित मूल्यभन्दा बढीको बिलबिजक जारी गरी बिक्री गरेको फेला पारेको सहायक प्रमुख जिल्ला अधिकारी कँडेलले बताए। टोलीले भाटभटेनीबाट बरामद भएको ५० केजीको ३० बोरा र ९२ थान (१८४ केजी) चिनी, २२ केजी नुन, नेभियाको २३ थान फेसवास, ४४ थान बडी लोसन, ५९ थान टोनर, १०१ थान लोसन शिलबन्दी गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>