सुदूरपश्चिम प्रदेश

राउटे समुदायबाट पहिलो पत्रकार

जोगबुढा, डडेलधुरा — साथीभाइ बिहानै उठेर कोही मजदुरी गर्न त कोही माछा मार्न रंगुन नदीतिर लाग्छन्। २१ वर्षीय गोपाल राउटे भने घरबाट तीन किलोमिटर परको रेडियो स्टेसन हिँड्छन्। परशुराम नगरपालिका–१२ आमपानीको राउटे बस्तीबाट पत्रकारिता क्षेत्रमा कार्यरत गोपाल एक्ला हुन्। स्थानीय परशुराम एफएममा कार्यरत गोपाल हरेक बिहान–साँझ समाचार पढ्न जान्छन्।

१२ कक्षा पढिरहेका उनी दिउँसो विद्यालय जान्छन्। आमपानी राउटे बस्तीमा उनको उमेर समूहका २५ युवा छन्। उनीहरूमध्ये धेरैले प्राथमिक तहपछि पढाइ छोडेका छन्। ‘छोराको लगन देखेर जेनतेन पढाउँदै छु,’ गोपालका बुबा ईश्वरी राउटेले भने। समुदायमा आफ्नो छोरा नै सबैभन्दा बढी पढेलेखेको छ भन्दा गर्व लाग्ने गरेको ईश्वरी सुनाउँछन्। ‘कमाउने पेसामा लाग्ला भन्ने आशा गरेको छोरा पत्रकार पो हुन्छु भन्छ,’ ईश्वरीले भने, ‘हामी समाजमा पुनःस्थापित भए पनि व्यवहारमा जंगली युगकै छौं। छोराको जे इच्छा त्यही गरोस्।’ गोपालले रेडियोमा काम गर्न थालेको तीन साता भएको छ। ‘यो रेडियो परशुराम हो, अब गोपाल राउटेबाट बिहान ७ बजेको समाचार सुन्नुहोस्’ प्रायः बिहान डडेलधुराको परशुराम नगरपालिका र आलीताल गाउँपालिकाका बासिन्दाबीच यो आवाज भिजिसकेको छ। सुरुसुरुमा उनले बोलेको भाषा खुट्याउनै समस्या हुन्थ्यो। उनी सुरुआतका दिन समाचारमा त लाई ‘ट’ र लाई ‘ल’ भनेर समाचार पढ्दै झुक्किन्थे, फेरि सुधार गरेर पढ्थे।

आधारभूत पत्रकारिताको एक साता तालिम लिएपछि अहिले उनले धेरै त्रुटि सच्याएर पढ्न थालेका छन्। रेडियोमा काम थालेपछि गोपालको दैनिकी नै परिवर्तन भएको छ। हरेक बिहान रेडियोमा समाचार पढेर दिउँसो स्थानीय सिद्धनाथ माविमा अध्ययन गर्न पुग्छन्। साँझ फेरि रेडियो स्टेसन पुग्छन्। ‘विद्यालय जाँदा बाटैमा पर्ने रेडियो स्टेसननजिक पुग्दा भित्र पसेर हेर्न पाए हुन्थ्यो, एक ठाउँ बोलेर संसारभरि सुनिने यो कस्तो प्रविधि रहेछ भन्ने लाग्थ्यो,’ गोपालले भने, ‘आफैं समाचार पढ्न थालेपछिमात्रै बुझें। अहिले गल्ती सुधार्ने प्रयास पनि गरिरहेको छु।’ सुरुआतका दिनमा स्पष्ट पढ्न असहज भए पनि बिस्तारै सजिलो लागिरहेको उनले सुनाए। बुझ्दै जाँदा रेडियोमा बोल्ने रहर पनि बढ्दै गएको उनले सुनाए। परशुराम रेडियोका प्रमुख पदम जोराले गोपालमा काम गर्ने इच्छा भएकाले तालिम लिएपछि धेरै सुधार भएको बताए। समाजको मूलधारमा आउन नसकेको राउटे समुदायबाट पत्रकारिता क्षेत्रमा जोडिएको गोपाल सम्भवतः पहिलो व्यक्ति भएको जोराले बताए। ‘उनको लगन र समर्पणले चाँडै उनी सफल पत्रकार बन्न सक्नेमा आशा गर्न सकिन्छ,’ जोराले भने।

नगरपालिका प्रमुख भीमबहादुर साउद पनि गोपाल राउटेको कला देखेर मख्ख परेका छन्। ‘सरकारले घर र जग्गा दिएर समाजमा पुनःस्थापित गरेको लामो समयसम्म पनि मूलधारमा आउन नसकेका राउटे समुदायबाट यसरी पत्रकारितामा आउनु सुखद विषय हो,’ नगर प्रमुख साउदले भने, ‘यस्ता प्रतिभालाई अगाडि बढाउन नगरपालिका सहयोग गर्न तयार छ।’ जन्मिनेबित्तिकै मासिक एक हजार भत्तासहितको सुविधा दिएर राज्यले राउटे समुदायको संरक्षणका लागि पहल गरे पनि उनीहरूको जीवनस्तर भने उठ्न सकेको छैन। राउटे बस्तीका अधिकांश युवा माछा मार्ने, काठको काम र मजदुरी गर्छन्। परशुराम नगरपालिकाको आमपानी र रज्यौडा गरी दुई बस्तीमा ८० भन्दा बढी राउटे परिवार छन्। २०३८ मा तत्कालीन राजा वीरेन्द्रको हुकुम प्रमांगीबाट घरजग्गाको व्यवस्थासहित पुनःस्थापित गरिएका राउटे परिवारमध्ये धेरैजसो भने गाउँ छोडेर गइसकेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>