समाचारसुदूरपश्चिम प्रदेशस्थानीय

राजमार्गहरु अवरुद्ध हुनेगरी सुदूरपश्चिममा हिमपात

२१ माघ, धनगढी। सुदूरपश्चिम प्रदेशका उच्च हिमाली र पहाडी क्षेत्रमा हिमपात भएको छ। प्रदेशका दार्चुला, बैतडी, डडेल्धुरा, बाजुरा, बझाङ, डोटी लगायतका जिल्लाका उच्च हिमाली र पहाडी क्षेत्रमा बिहीबार वर्षासँगै हिमपात भएको हो।

हिमपातपछि बढेको चिसोले यी जिल्लाको जनजीवन प्रभावित बनेको छ भने ठाउँ–ठाउँमा राजमार्ग अवरुद्ध हुँदा सवारी साधन चल्न सकेका छैनन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार हिमपातले पहाडी जिल्लाको यातायात सेवा प्रभावित भएको छ।सुदूूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध हुँदा तराईबाट पहाड जाने र तराई झर्ने कुनै पनि सवारीसाधन चल्न सकेका छैनन्। प्रहरीकाअनुसार डोटीको गैरा र डडेल्धुरामा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।

यस्तै बैतडीमा अनारखोली, खोडपे, ढोल्यामोड, सतबाँझ, देहिमाडौँ लगायतका ठाउँमा मुख्य राजमार्ग अवरुद्ध भएको छ भने बझाङमा जयपृथ्वी राजमार्ग पनि अवरुद्ध छ। हिमपातका कारण सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग, महाकाली राजमार्ग, दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग अवरुद्ध बनेका प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशका उच्च हिमाली र पहाडी क्षेत्रमा यो वर्ष हिमपात भएको यो तेस्रोपटक हो। गत पुस र माघ दोस्रो हप्ता पनि यहाँ हिमपात भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>