खेलकुद
रोहित चन्द इन्डोनेसियन क्लब पेरिसिक केडिरीमा आवद्ध

८ जेठ, काठमाडौं। रोहित चन्द इन्डोनेसियन क्लब पेरिसिक केडिरीमा आवद्ध भएका छन्। क्लबले आइतबार सामाजिक सञ्जालमा हाम्रो हिमालयन टाइगर भन्दै रोहितको तस्वीर पोस्ट गरेको छ।
रोहितले आइतबार नै ईन्डोनेसियाको अर्को क्लव पर्सिजा जाकार्ता छाडेका थिए। यो सिजनमा पर्सिजा आठौं स्थानमा रह्यो भने रोहित आवद्ध भएको पेरिसिक केडिरी ११ औं स्थानमा छ। रोहितले २०१३ देखि २०१५ सम्म पनि पर्सिजाबाट खेलेका थिए। त्यसपछि उनी मलेसियन क्लब टि टिम एफसीमा अनुबन्ध भए । जहाँ उनले चोटका कारण धेरै समय खेल्न पाएनन् । त्यसपछि उनी सन् २०१७ मा फेरि इन्डोनेसियामै फर्किएका हुन्।
रोहितले पर्सिजाबाट लिगसहित चार उपाधि जितेका छन्। उनी एक सिजन लिगको सर्वोत्कृष्ट खेलाडीसमेत बनेका थिए। इन्डोनेसियामा रोहित हिमालयन टाइगर उपनामले चिनिन्छन्। इन्डोनेसियमा उनका थुप्रै समर्थक छन्।




