चर्च ब्वाइज युनाइटेडको ‘ए’ डिभिजनमा बढुवा

काठमाडौँ। चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक लिग बी डिभिजन एक खेल अगाडि नै जित्ने मंगलबार सु-निश्चित भएको छ। यससँगै ललितपुर बालकुमारीको क्लब ए डिभिजनमा उक्लने पनि औपचारिक पूरा भएको छ। वर्ष ०६६ मा मात्र दर्ता भएको चर्च ब्वाइजले ०७६ मा सी डिभिजन छनोट जितेको थियो।
त्यसपछि उसले ०७७ मा सी डिभिजन र अहिले ०७८ मा बी डिभिजन जितेको छ। यसरी चर्च ब्वाइजले लगातार उपाधि जितेर ए डिभिजनमा उक्लेको ऐतिहासिक कीर्तिमान बनाएको छ। यस अगाडि मनाङ मर्स्याङ्दी तथा थ्री स्टारले पनि लगातार लिग जितेर ए डिभिजनमा उक्लिएका थिए र अहिले चर्च ब्वाइजले त्यही ऐतिहासिक फड्को मारेको हो।
सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको निर्णायक खेलमा बाँसबारीलाई ५–१ ले हरायो। त्यसमा साइमन लिम्बू एक्लैले चार गोल गरे भने एक गोल आशिष चौधरीको नाममा रह्यो। बाँसबारीका लागि सञ्जीव धिमालले एक गोल फर्काए। यो जितपछि चर्च ब्वाइजको १२ खेलबाट २६ अंक भएको छ र अब उसलाई लिगका बाँकी कुनै पनि टिमले उछिन्न सक्ने छैन।
चर्च ब्वाइजका अध्यक्ष तथा टिम व्यवस्थापक रुबिन राईले कडा मिहिनेत र संघर्षले नै क्लब ए डिभिजनमा उक्लिन सफल रहेको बताए। क्लब दर्ता भएको एक दशक जतिको समय सी डिभिजन छनोटमै रहेको चर्च ब्वाइजले वर्ष ०७६ मा त्यसलाई जितेपछि जम्मा दुई वर्षको अन्तरमा माथिल्लो डिभिजनमा बढुवा लिएको हो। चर्च ब्वाइजले यस खेलेका १२ खेलमध्ये आठमा विजयी रहेको छ।
बाँकी दुई खेलमा बराबरी र दुईमा हार बेहोरेको छ। निर्णायक खेलपछि अध्यक्ष राईले भने, ‘फुटबलमा सपना देख्नु पर्छ र त्यसका लागि कडा मिहिनेत तथा संघर्ष गर्ने हो भने त्यो पूरा हुन्छ। अहिले हामीले यस्तै अनुभव गरेका छौं।’ टिमका मुख्य प्रशिक्षक कविचन्द्र राईले सबै खेलाडीले कडा मिहिनेत गरेका र टिममा सन्तुलन पनि रहेको हुनाले अहिलेको सफलता सम्भव भएको बताए।
टिमको मुख्य प्रशिक्षक राई रहे पनि पर्दा पछाडिबाट प्रशिक्षणको मूल जिम्मेवारी भने थ्री स्टारका कप्तान विक्रम लामाले सम्हालेका थिए। नेपाली राष्ट्रिय टिमबाट अहिले बाहिर रहेका विक्रमले चर्च ब्वाइज ए डिभिजनमा उक्लिनु आफ्नो लागि अहिलेसम्मकै खुसीको उपलब्धीमध्ये एक रहेको माने। उनले भने, ‘यसपल्टको लिगका लागि हामीले पर्याप्त तयारीको अवसर पाएको थियौं र टिम पनि लगभग मिलिसकेको थियो।’ उनी चर्च ब्वाइजको सी डिभिजन छनोटको सफलतादेखि नै क्लबमा आबद्ध छन्। टिमका कप्तान सनम राईले पनि चर्च ब्वाइजलाई ए डिभिजन बढुवा गरेर आफूमाथि सुम्पिएको जिम्मेवारी पूरा गरेको बताए।
नेपाली राष्ट्रिय टिमका खेलाडी सन्जोक राईका दाइ सनमले आफूले यहाँसम्म तय गरेको यात्रामा निकै कडा संघर्ष गरेको बताउँदै सपना साकार भएको बताए। क्लब अध्यक्ष राईका अनुसार अहिलेको बी डिभिजनका लागि भनेर ४२ लाख रुपैंयाको बजेट बनाएको बताए। तर उनले अहिले नै ए डिभिजनमा के कस्तो गर्नेबारे कुनै योजना नबनाएको पनि बताए।




