राजनीति

अहिलेको राजनीतिक मूलधार माओवादी आन्दोलन नै हो : प्रचण्ड

१३ साउन, काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको राजनीतिको मूलधार माओवादी आन्दोलन भएको दाबी गरेका छन्। प्रेस सेन्टर नेपालको प्रथम पूर्ण केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नेपालको राजनीतिमा मूलधार को हो भन्ने अलमल परेको समेत प्रचण्डको टिप्पणी छ।

परिवर्तन उल्ट्याउन खोज्नेहरूलाई मूलधार भनेर परिवर्तनका बाहकहरूलाई विस्मृतितर्फ लैजान खोजिएको गुनासो प्रचण्डको छ। ‘अहिलेको परिवर्तन उल्टयाउन खोज्नेहरूलाई मूलधार भन्ने हो भने फेरि त्यही पुरानै प्रवृत्तिले टाउको उठाउँदै जाने र परिवर्तनका वाहकहरू आफ्नो विरासत, आफ्नो इतिहासलाई कता कता विस्मृतितर्फ लैजाँदै जाने खतरा पैदा भएको छ,’ उनको भनाइ छ। ‘नेपालको राजनीतिको कथनमा को हो मूलधार भन्ने अलमल जस्तो छ’ प्रचण्डले भने, ‘अहिलेको मूलधार भनेको माओवादी आन्दोलन नै हो। तर, यसलाई सीमान्तकृत गर्ने ती मानिसहरू, जो हिजो गणतन्त्र सम्भव नै छैन, नेपालमा संविधानसभा सम्भव नै छैन भन्ने छन् । पुरानो मूलधारका सबै नेताहरूलाई यो मन परेको चिज पनि होइन।’

फरक प्रसङ्गमा उनले माओवादीहरूमा पढ्ने, लेख्ने र बोल्ने जाँगर हराउँदै गएको बताए। ‘सोसल मिडियामा राम्रो ट्वीट गरिदियो भने पनि जनताले राम्ररी बुझ्छन्’ प्रचण्डले भने, ‘तर, त्यति गर्ने जाँगर पनि माओवादी पत्रकारलाई छैन। बुद्धिजीवीहरूमा छैन। अन्तै अन्तै जाँगर चल्न थालेको छ।’ मूलधारको नेतृत्व गर्ने विचार र पार्टीको कुन हो भनेर बहस गर्न आवश्यक रहेको समेत प्रचण्डको भनाइ छ। ‘आजको राजनीतिको मूलधारको नेतृत्व गर्ने विचार कुन हो ?’ उनको भनाइ छ, ‘र, त्यो विचारको नेतृत्व गर्ने पार्टी र नेताहरूको को हो भन्ने कुरा बहसको विषय बनाइनुपर्छ।’

मध्यपहाडी लोकमार्गको सुरुवात र देशलाई विद्युतीकरण माओवादीले गरेको भन्दै यी दुई कुराको प्रचार मात्रै गर्दा पनि राम्रो हुने प्रचण्डको भनाइ छ। उनले आफ्नो दुई कार्यकालमा भ्रष्टाचार गरेको भनेर कसैले भन्न नसक्ने गरी काम गरेको समेत देखाए। उनले राम्रा कामको प्रचार गर्न छाडेर आफ्नैलाई सिध्याउनतिर माओवादीहरू लागेको बताए। प्रचण्डले भने, ‘हामीले गरेका राम्रा कामको प्रचार गर्न जाँगर छैन। पार्टीभित्र बरु त्यति छलफल गर्न जाँगर देखाउँदैनौं, तर बाहिर चाहिं के गरी धुलो काढ्न सकिन्छ, त्यतातिर लागेका छौं।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>