समाचार

पत्रकार राईको मुद्दा काउन्सिललाई जिम्मा दिन महासंघको आग्रह

काठमाडौँ। नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलले पत्रकार गजेन्द्र राईविरुद्ध नेपाल प्रहरीले चलाएको कारबाही कानुनविपरीत भएको भन्दै त्यसको जिम्मा काउन्सिललाई दिनुपर्ने बताएका छन्। मंगलबार सरकारी वकिलको कार्यालय बबरमहल पुगेर सहन्यायाधिवक्ता अच्युतकृष्ण न्यौपानेलाई भेट्दै काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, महासंघका अध्यक्ष विपुल पोखरेल नेतृत्व टोलीले आग्रह गरेका हुन्।

रेडियो नेपाल उदयपुर संवाददाता तथा स्थानीय पत्रकार राईले समाचार सम्प्रेषण गरेकै आधारमा साइबरक्राइमअन्तर्गत प्रहरीले पक्राउ गरी थुनामा राखेको छ। आधिकारिक रुपमा प्रेस काउन्सिलमा दर्ता प्राप्त मिडियामा आएको सामग्रीलाई लिएर प्रहरीले कारबाही अघि बढाउनु उचित नभएको काउन्सिलका अध्यक्ष बस्नेतले बताए। ‘मिडियामा आएको विषयवस्तुमा चित्त नबुझेमा त्यसविरुद्ध समाधान खोज्ने बाटो प्रेस काउन्सिल हो,’ सहन्यायाधीवक्ता न्यौपानेसित अध्यक्ष बस्नेतले भने, ‘काउन्सिलले गरेको कारबाही चित्त नबुझे अदालती प्रक्रियामा जाने वा अन्य निकायमा जाने बाटो खुला छ। तर यस्तो कानुनी व्यवस्थाविपरीत साईबर क्राईमअन्तर्गतको कानुन लगाएर पत्रकारहरूलाई तर्साउन खोजिराखिएको छ। यस्तो हुनु राम्रो हैन।’

महासंघका अध्यक्ष पोखरेलले पछिल्लो पटक साईबर क्राइमअन्तर्गतको कानुन लगाएर पत्रकारहरूलाई श्रृंखलाबद्ध पक्राउ गर्ने क्रम बढिरहेकोमा चिन्ता व्यक्त गर्दै यसले लोकतान्त्रिक व्यवस्था र प्रेस स्वतन्त्रतामाथि नै आघात पुग्ने बताए। महासंघका महासचिव रोशन पुरीले पत्रकार गजेन्द्र राईको विषयमा प्रहरी संगठनभित्रैका एक अधिकृतको व्यक्तिगत रिसइबी पनि जोडिएको जानकारीमा आएकाले एक जना व्यक्तिको कारण सिंगो संगठन बदनाम गराउने गरी प्रहरी लाग्न नहुने बताए। सहन्यायधिवक्ता न्यौपानेले यसबारे सम्पूर्ण विवरण आफू मातहत आएपछि मात्र केही भन्न सकिने बताए।

पत्रकार राईलाई आफैंले सञ्चालन गरेको अनलाईन पत्रिकामा प्रकाशित भएको समाचार र भिडियोको विषयलाई लिएर शुक्रबार प्रहरीको साईबर ब्युरोले गाईघाटबाट पक्राउ गरेको छ। हाल उनलाई साईबर ब्युरोले दरबारमार्ग प्रहरी कार्यालयको हिरासतमा राखेको छ। पत्रकार महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ, किरात राई पत्रकार संघले विज्ञप्ति जारी गर्दै पत्रकार राईको रिहाइको माग गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>