राष्ट्रियसमाचार

कानुनमन्त्रीलाई बहुविवाहसम्बन्धी कानुन रोक्न ज्ञापन पत्र

२० साउन, काठमाडौं । नेपाल महिला संघ, काठमाडौं जिल्ला कमिटीले बहुविवाह गर्न पाउने व्यवस्थासहितको मस्यौदा तयार भएको भन्दै आइरहेका समाचारहरूप्रति ध्यानाकर्षण गराउँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरासियालाई ज्ञापन पत्र बुझाएको छ ।

मंगलबार सिंहदरबास्थित मन्त्री चौरासियाको कार्यकक्षमा पुगेर कमिटीका सदस्यहरूले ज्ञापन पत्र बुझाएका हुन् । यस्तो कानुनको मस्यौदाले विभिन्न नाममा आन्दोलनबाट प्राप्त अधिकारहरू तुहाउने प्रायस भइरहेको संघले ज्ञापन पत्रमा उल्लेख गरेको छ । ‘कहिले राजनितिक प्रतिनिधित्वमा गठबन्धनको कारण सहभागीता घटने, कहिले विवाहको उमेर घटाएर महिलाहरुलाई उत्पादन सम्बन्धसँग जोडिन र घरको चौघेराबाट बाहिर आउन नसक्ने वातवरण सृजना गर्ने, कानुनी व्यवस्था जस्ता प्रयासहरू भइरहेका छन्,’ ज्ञापन पत्रमा उल्लेख छ ।

पितृसत्तात्मक सामाजिक संरचनाले महिलाहरू शक्ति, सत्ता र सम्पत्तिबाट वञ्चित भएको भन्दै उनीहरूले महिलाहरू सधैँ दासको रुपमा व्यवहार गर्ने बाटो खुलाउने ज्ञापन पत्रमा उल्लेख छ । ‘यस परिस्थितिमा अहिले नेपाल सरकार कानुन, न्याय तथा संसदिय मन्त्रालयले ल्याउन लागेको कानुनी व्यवस्थाले महिला समानताको नाममा अमुक व्यक्तिहरूको अवाञ्छित इच्छा पूरा गर्ने देखिएको छ र महिलाहरूलाई सधैं दासको रुपमा व्यवहार गर्न बाटो खुलाउने देखिन्छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘त्यसैले, नेपाल सरकार कानुन मन्त्रालयले हाल ल्याउन लागेको उक्त पश्चगामी कानुन तत्काल रोक्न जोडदार माग गर्दछौं ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>