इजरायलमा छैटौंपटक प्रधानमन्त्री बने बेन्जामिन नेतान्याहु

१५ पुस, काठमाडौं। विगत दुई वर्षदेखि सत्ताबाहिर रहेका इजरायली नेता बेन्जामिन नेतान्याहु इजरायलको प्रधानमन्त्री निर्वाचित भएका छन्। प्रधानमन्त्री पदमा यसपटक शपथ लिएसँगै उनले अहिलेसम्म ६ पटक इजरायलको प्रधानमन्त्री बन्ने कीर्तिमान बनाएका छन्।
उनले विहीबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पदमा रहेका नेतान्याहुलाई संसदको १२० सदस्य मध्ये ६३ सांसदको समर्थन छ भने ५४ सांसदको उनको सरकारको विपक्षमा मतदान गरे। अति दक्षिणपन्थी सहयोगीहरूसँगको गठबन्धनमा सत्तामा फर्किएका उनले आफ्नो सरकारका तीन राष्ट्रिय लक्ष्यहरू रहेको बताए। उनले भने, ‘यो सरकारको तीन राष्ट्रिय लक्ष्यहरू- आणविक हतियारमा इरानको प्रगतिलाई रोक्ने, देशभर बुलेट ट्रेनहरू चलाउने र अब्राहम सम्झौतामा थप अरब राष्ट्रहरूलाई सहभागी लगाउने।’
नेतान्याहुलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बधाई दिएका छन्। कीर्तिमानी उपलब्धिका लागि बधाई सन्देश दिँदै पुटिनले भनेका छन्, ‘तपाईको नेतृत्वमा इजरायलको नयाँ सरकारले मध्यपूर्वमा शान्ति र सुरक्षा कायम राख्ने र रसिया र इजरायलबीचको पारस्परिक सहयोगको सम्बन्धलाई सुदृढ गर्दै दुवै देशका जनताको हितमा काम गर्ने विश्वास लिएको छु।’ पुटिनले दुई देशबीच मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउन नेतान्याहुको व्यक्तिगत र दीर्घकालीन योगदानको रुसले उच्च कदर गर्ने सन्देशमा उल्लेख गरेका छन्।
रुस-युक्रेन युद्धमा इजरायलले सावधानीपूर्वक तटस्थ अडान अपनाउँदै आएको छ। पूर्व सोभियत संघका एक करोडभन्दा बढी नागरिक इजरायलमा बस्ने भएकोले इजरायलले रुससँगको सम्बन्धलाई महत्व दिँदै आएको छ। यसैबीच युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पनि नेतान्याहुलाई प्रधानमन्त्री बन्न सफल भएकोमा बधाई दिएका छन्। उनले आफ्नो देश इजरायलसँग गहिरो सम्बन्ध बनाउन र साझा चुनौतीहरूको सामना गर्न मिलेर काम गर्न तयार रहेको सन्देशमा बताएका छन्। समाचार एजेन्सी एएफपीका अनुसार युक्रेनले बारम्बार हतियारका पठाउन गरेको अनुरोध इजरायलले स्वीकार गरेको छैन।