आज गुल्मीको रेसुङ्गा विमानस्थलमा डेमो उडान

२४ पुस, काठमाडौं। गुल्मीको रेसुङ्गा नगरपालिकास्थित सिमिचौरमा निर्माण सम्पन्न भएको रेसुङ्गा विमानस्थलमा आइतबार (आज) डेमो उडान हुँदैछ। यस अवसरमा रेसुङ्गा नगरपालिका कार्यालयमा बिदा दिइएको छ।
रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले नगरपालिकाको समन्वयमा विमानस्थलमा परीक्षण उडान गर्न लागिएकाले आज नगरपालिकाका सम्पूर्ण सेवा बन्द हुने उल्लेख गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाज गुल्मी प्रस्थान गर्नेछ। एयरलाइन्स कम्पनीका अनुसार तारा एयरले आइतबार बिहान १०:३० मा डेमो उडान गर्नेछ।
जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद चन्द्र भण्डारी, गोकर्ण विष्ट लगायत नेताहरू सवार हुनेछन्। साथै एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री समेत जहाजमा रहने छन्। तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु समेत जहाजमा रहने भएका छन्। यो जहाज रेसुङ्गा विमानस्थलमा झण्डै १ घण्टा रहने छ। त्यसपछि पुनः काठमाडौं फिर्ता हुने छ।
यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आइतबार डेमो उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने छ। नियमित उडानका लागि भने कम्तिमा २ साता लाग्नेछ। यो विमानस्थलमा तारा एयरले प्रारम्भमा स्थानीय सरकारसँगको समन्वयमा उडान गर्ने भएको छ। रेसुङ्गा विमानस्थल सदरमुकाम तमघास क्षेत्रमा पर्छ। यो सदरमुकाम तमघासबाट ५ किलोमिटर दुरीमा छ। रेसुङ्गा विमानस्थलमा १८ सिट क्षमताको जहाज मात्र जान सक्छ।




