राजनीतिसमाचार

रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्छ : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले आफ्नो पार्टीलाई रविको पार्टी नभई राष्ट्रिय स्वतन्त्र पार्टी बनाउन आग्रह गरेका छन् ।

ढकालले आज केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेका समीक्षा प्रतिवेदनमा आधारित प्रस्तावमा यस्तो आग्रह गरेका हुन् । उनले सभापतिलाई अन्य दलसँग मिलेकामा ब्यंग्य गर्दै ‘झिँगासँग उडियो भने गूमा पुगिन्छ’ भन्दै मौरीसँग उड्न आग्रह समेत गरेका छन् । ढकालले आफ्नो लिखित धारणामा गुरुआमा र गर्लफ्रेन्डको प्रसङ्ग उल्लेख गरेका छन् । समानुपातिक सांसद छनोट पार्टीको विधि विपरीत भएको भन्दै रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीले महामन्त्री ढकाललाई लक्षित गर्दै श्रीमतीका साटो गर्लफ्रेन्डलाई सांसद बनाइएको बताएका थिए ।

त्यसका जवाफमा ढकालले समानुपातिक सूचीको २ र १२ नम्बरमा सिफारिस भएकालाई सांसद बनाउँदा १५ नम्बरमा रहेका (गणेश कार्की) छुटेको बताएका छन् । आफूले गुरुआमाका रुपमा मानेको व्यक्तित्वलाई सांसद बनाउँदा नातावादको आरोप लगाएको महामन्त्री ढकालको गुनासो छ । चार दशक स्वास्थ्य क्षेत्रमा काम गरेकी व्यक्तिलाई जान्नेलाई छान्ने नीति अनुसार सांसद बनाइएको उनको लिखित धारणामा उल्लेख छ । यस्तै आफ्नो प्रेम सम्बन्ध र उसैलाई सांसद बनाएको विषयलाई लिएर पनि प्रश्न उठेको भन्दै महामन्त्री ढकालले व्यक्तिगत जीवनबारे केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक नपर्ने बताएका छन् ।

‘मैले बिहे गर्ने कि नगर्ने ? कुमार नै बस्ने कि केन्द्रीय समितिले निर्णय गरिदेओस्’ मुकुलले लेखेका छन्, ‘केन्द्रीय समितिले नै केटी खोजेर योसँग (बिहे) गर भन्छ भने पनि तयार छु वा आफ्नो इच्छामा गर भन्छ भने पनि ठिक छ ।’ विवाह बाहेक पनि आफ्नो जीवनको सबै कुरा पार्टीले धारणा बनाइदिन पनि स्वीकार्य हुने उनले बताएका छन् । ‘देश छाडेर जा, देशको हित हुन्छ भने पनि गइदिन्छु’ महामन्त्री ढकालले लिखित धारणामा उल्लेख गरेका छन्, ‘राजनीति छोड्, देशको हित हुन्छ भने पनि छोडिदिन्छु । देशको हितमा कुन ठाउँमा हुँदा ठिक हुन्छ, मैले के गर्दा ठिक हुन्छ, तपाईंहरु भनिदिनुस् ।’

महामन्त्री ढकालले यसअघि ३८ जिल्ला पुगेर तयार पारेको समीक्षा प्रतिवेदन गत साता सभापति रवि लामिछानेलाई बताएका थिए । ढकालले बुझाएको ३२ पृष्ठको प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत कठिन हुने उल्लेख छ । प्रतिवेदनका बारेमा सावर्जनिक अभिव्यक्ति दिएको भन्दै रास्वपाले ढकाललाई स्पष्टीकरणसमेत सोधिसकेको छ । महामन्त्री ढकालले केन्द्रीय समिति बैठकमा आफ्नो प्रतिवेदनमाथिको छलफल प्रत्यक्ष प्रसारणको माग गरेका थिए । प्रत्यक्ष प्रसारण नगर्ने सभापति लामिछानेको निर्णयप्रति विरोध जनाउँदै ढकाल विरोधस्वरुप आजको बैठकमा मुखमा कालोपट्टी बाँधेर उपस्थित भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>