राजनीतिसमाचार

दुई प्रस्तावित राजदूतविरुद्ध उजुरी, थापामाथि पीआर र सुनारमाथि हिंसाको आरोप

२१ असोज संगम श्रेष्ठ, ललितपुर । देशका लागि प्रस्तावित राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिले मागेको उजुरीमा जापान र साउदी अरेबियाका लागि प्रस्तावित राजदूतमाथि मात्रै व्यक्तिगत उजुरी परेको छ ।

जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापाविरुद्ध तीनवटा र साउदी अरेबियाका लागि प्रस्तावित गिरीबहादुर सुनारविरुद्ध दुईवटा उजुरी परेका छन् । समग्र राजदूत नियुक्तिमा समावेशिता नपुगेको भन्दै अर्को एउटा उजुरी परेको छ ।

थापामाथि पीआर रहेको दाबी
थापाविरुद्ध परेको उजुरीमा उनीसँग जापानको स्थायी आवासीय अनुमति (पीआर) रहेको दाबी गरिएको छ । उजुरीकर्ताले राजदूत पदका लागि विदेशी मुलुकको पीआर वा अस्थायी आवासीय अनुमति भएको व्यक्ति अयोग्य हुने व्यवस्था रहेको उल्लेख गर्दै थापाको पीआरको वर्तमान अवस्था छानबिन गर्न माग गरेका छन् । जापानको कानागवा प्रिफेक्चरमा घर रहेको दाबी गर्दै उजुरीकर्ताले उनको सम्पत्ति, लगानी, व्यावसायिक संलग्नता र बैंकिङ दायित्व समेत परीक्षण गर्न माग गरेका छन् । अर्को उजुरीमा थापाको नागरिकता र पारिवारिक बसोबासको अवस्थासमेत जाँच गर्न भनिएको छ ।

सुनारमाथि हिंसाको आरोप
सुनारविरुद्ध परेको उजुरीमा भने महिलामाथि हिंसा, धम्की र अन्तरंग तस्बिर पठाएको आरोप लगाइएको छ । उजुरीकर्ताका अनुसार प्रेम सम्बन्धमा रहेकी एक महिलासँग सम्बन्ध टुटेपछि सुनारले उनलाई र उनको परिवारलाई धम्की दिएका थिए । घटनासँग सम्बन्धित भन्दै मेसेजका स्क्रिनसट, प्रहरी कार्यालयमा माफी मागिएको भनिएको विवरण र मिलापत्रका प्रतिलिपिसमेत समितिमा बुझाइएको दाबी गरिएको छ ।

अर्को उजुरीमा सुनारको राजनीतिक आबद्धतामाथि प्रश्न उठाइएको छ । रास्वपा सांसद खगेन्द्र सुनारसँगको सम्बन्ध तथा ‘हाम्रो नेपाल पार्टी’सँग जोडिएको विषय उल्लेख गर्दै गिरीबहादुरलाई राजदूतका लागि अयोग्य दाबी गरिएको छ । उजुरीमा खगेन्द्र र गिरीबहादुर सुनारले डीआईजी बढुवाका क्रममा ३३ लाख रुपैयाँ बुझेको लगायतका आरोपसमेत लगाइएको छ । यी आरोपको स्वतन्त्र पुष्टि भने भइसकेको छैन ।

पाण्डेको प्रशंसा, समावेशितामाथि प्रश्न
भारतका लागि प्रस्तावित राजदूत निश्चलनाथ पाण्डेको प्रशंसा गर्दै पनि एउटा उजुरी परेको छ । उजुरीकर्ता आकृति शर्माले पाण्डेजस्तो व्यक्ति प्राज्ञिक क्षेत्रमा हुनुपर्ने धारणा राखेकी छन् । त्यस्तै, अर्को उजुरीमा प्रस्तावित राजदूतमा महिला र अन्य समुदायको समानुपातिक प्रतिनिधित्व नभएको दाबी गरिएको छ ।

समितिले अब उजुरीकर्तासँग सोधपुछ गरी प्रस्तावित राजदूतसँग समेत उठाइएका प्रश्नमा जवाफ लिनेछ । उजुरीमा लगाइएका आरोप प्रमाणित भइसकेका तथ्य नभएकाले समितिको छानबिन र सम्बन्धित व्यक्तिको जवाफपछि मात्रै तिनको वास्तविकता स्पष्ट हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>