समाचार लेखनदेखि एआई प्रयोगसम्म, पत्रकारिता सिक्न चाहनेलाई तालिम

२१ असोज संगम श्रेष्ठ, ललितपुर । बागमती प्रदेश सरकार, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयअन्तर्गतको प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय, हेटौंडाले पत्रकारिता क्षेत्रमा प्रवेश गर्न चाहने तथा सीप अभिवृद्धि गर्न इच्छुक व्यक्तिका लागि विभिन्न विषयमा तालिम तथा कार्यशाला सञ्चालन गर्ने भएको छ ।
कार्यालयले आफ्नो वार्षिक स्वीकृत कार्यक्रमअनुसार पत्रकारितासँग सम्बन्धित सीप सिक्न चाहने नवप्रवेशी तथा पत्रकारिता क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई लक्षित गर्दै तालिम सञ्चालन गर्न लागेको जनाएको छ ।
कार्यालयद्वारा जारी सूचनाअनुसार तालिममा समाचार लेखन तथा सम्पादनसम्बन्धी कार्यशाला (रचनात्मक पत्रकारिता), रेडियोमा समाचार सम्पादन तथा प्रस्तुतीकरणसम्बन्धी कक्षा लगायतका विषय समेटिनेछन् । यस्तै, पत्रकारितामा एआई (कृत्रिम बुद्धिमत्ता) को प्रयोगसम्बन्धी कार्यशाला समेत सञ्चालन गरिने सूचनामा उल्लेख छ ।
कार्यालयले इच्छुक व्यक्तिहरूलाई आफूले सिक्न चाहेको विषय स्पष्ट उल्लेख गरी निवेदन पेश गर्न आग्रह गरेको छ । निवेदन छनोट गर्दा सम्बन्धित विषयमा रुचि तथा आवश्यकताका आधारमा प्राथमिकता दिइने जनाइएको छ । सूचनामा निवेदन दिने प्रशिक्षार्थीहरूको संख्या सीमित रहने र तालिममा सहभागी हुन चाहनेले तोकिएको समयभित्र आवेदन दिनुपर्ने उल्लेख छ ।
प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयले पत्रकारिता क्षेत्रमा नयाँ जनशक्तिलाई दक्ष बनाउने तथा प्रविधिको बढ्दो प्रयोगसँगै पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस्तो कार्यक्रम अघि सारेको हो । पछिल्लो समय सञ्चारमाध्यममा डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको प्रयोग बढिरहेका बेला कार्यालयको यो कार्यक्रमलाई पत्रकारिता क्षेत्रमा सीप विकासका लागि महत्वपूर्ण पहलका रूपमा लिन सकिन्छ ।





