अन्तरधार्मिक शान्ति महासंघ नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न

बिदुर अधिकारी काठमाडाैँ, असोज ८। अन्तरधार्मिक शान्ति महासंघ नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाण्डुको मिनभवन स्थित अल्फा भवनमा उक्त सभा अयोजना गरिएको थियो ।
अन्तरधार्मिक शान्ति महासंघ नेपालका अध्यक्ष किराँत धर्मगुरू रामभक्त कुरूङमाङको अध्यक्षतामा सुरूभएको उक्त सभामा हिन्दू, बाैद्ध, मुश्लिम तथा इसाई मतका धर्मगुरूहरूले एउटै मञ्चबाट पालैपालो प्रार्थना गर्नुभएपछि राष्ट्रिय गान बजाइएर नेकपाका तर्फबाट मोरङ क्षेत्र नम्बर १ बाटका संघीय व्यवस्थापिका सदस्य माननीय सांसद घनश्याम खतिवडाले पानसमा बत्ती प्रज्जवलित गर्नुभएपछि कार्यक्रम सुरूभएको थियो । त्यसपछि महासंघका अध्यक्ष कुरूङमाङद्वारा अध्यक्षको मन्तव्यका साथ कार्यक्रम अगि बढेको थियो ।

उक्त सभामा विभन्न धर्म मतका गुरू अगुवाहरू तथा अन्तरधार्मिक संघसंस्थाका प्रतिनिधिहरूसमेत गरी करिब ६० जनाको उपस्थिति रहेको थियो । बुद्ध धर्मगुरू पियादसी महर्जन, ख्रीष्टियन शिक्षक नेपाल थियोलजिकल कलेजका प्रिन्सिपल डा. बालकृष्ण शर्मा, इश्लामबाट मैलाना अबुल कलाम, किरात धर्मगुरू डेकेन्द्र सिं थेगिम, कबिर पन्थका धर्मगुरू डा. सागरसेन राई, बहाई धर्मबाट नरेन्द्र पाण्डे, ओम शान्तिका रामसिं ऐर, योगगुरू विनोद शर्मा (स्वामी अनन्द विनोद), स्वामी कल्याण मित्र, हिन्दू धर्मगुरू डिल्लीराम गाैतम लगायतले सम्बोधन गर्नुभएको थियो ।
विभिन्न धर्मगुरूहरूको मन्तव्यपछि प्रमुख अतिथिबाट मन्तव्यको क्रममा देशमा धर्मको आधारमा कसैले राजनीति गर्ने दुश्प्रयास गर्छ भने आफू त्यसको विरूद्ध सचेत रहने बताउनुहुँदै, अन्तरधार्मिक शान्ति र सदभावका लागि आफ्नोतर्फबाट सक्दो साथ समर्थन रहने र संसदमा समेत यसको पक्षमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभएको थियो ।

यसरी खुल्ला सत्रका कार्यक्रमहरूलाई अध्यक्षबाट धन्यवादसहित समापन गरिएपछि बन्द सत्रमा अध्यक्ष, महासचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल गरी पारित गरियो । त्यसपछि सदस्यता नविकरण गरेका संस्थाहरूको नामावली सुनाई, अध्यक्षद्वारा नरेन्द्र पाण्डेको संयोजकत्वमा शेखबानु र विदुर अधिकारी सहितको निर्वाचन समिति नियुक्त गरिएको थियो जसले गराएको नयाँ कार्य समितिको चुनावमा महिला तथा विभिन्न मतबाटका पदाधिकरीहरूको चयन भएको छ ।
नवगठित कार्यसमिति यसप्रकार रहेको छः-
अध्यक्षः- रामभक्त कुरूम्वाङ
उपाध्यक्षः- डा. महेन्द्र भट्टराई
सचिवः- रामचन्द्र भट्टराई
कोषाध्यक्षः- पियादस्सी महर्जन
सहकोषाध्यक्षः- प्रतिक्षा राई
सदस्यहरूः- पियारत्न महर्जन, सावित्रा खातुन, मुकुन्द शर्मा, बालकृष्ण महर्जन, दिनेशबाबु श्रेष्ठ ।
विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघसंस्थाहरूसँगको सहकार्यमा अन्तरधार्मिक शान्ति महासंघ नेपालले विभिन्न धर्मावलम्बी अगुवाहरूमाझ शान्ति मेलमिलाप तथा सहकार्य र सहिष्णुताको लागि कार्य गर्दै अएको छ ।




