उत्साह नेपाली चर्च जापान १२औं वर्षमा प्रवेश

काठमाडौँ । उत्साह नेपाली चर्च जापानले आफ्नो स्थापनाको ११ औं वर्ष पूरा गरी १२ औं वर्षमा प्रवेश गरेको छ ।
सन् २०१४ मा स्थापना भएको जापानको पहिलो उत्साह नेपाली चर्चले विविध कार्यक्रमहरूको आयोजना गरी आइतबार ११ औं स्थापना दिवस मनाएको हो । चर्च स्थापना दिवसको अवसरमा उत्साह नेपाली चर्चले जापानमा रहेर संगति गरिरहनुभएका विभिन्न देशका पास्टर अगुवाहरूलाई निमन्त्रणा गरेको थियो ।
कार्यक्रममा कोरियन चर्चका पास्टर र अगुवा, फिलिपिन्स चर्चका मुख्य अगुवा, इन्डियन चर्चका पास्टर, पाकिस्तान, अमेरिका, म्यानमार लगायतका चर्चहरूबाट पास्टरज्यूहरूको सहभागिता रहेको थियो । अध्ययन र रोजगारका लागि नेपालीहरू जापान पुगेपछि जापानमा चर्चको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । उत्साह नेपाली चर्च नेपालीहरूले स्थापना गरेको पहिलो नेपाली चर्च हो । उत्साह नेपाली चर्चका संस्थापक पास्टर चन्द्रकुमार खपाङ्गीका अनुसार हालसम्म २५ भन्दा बढी नेपाली चर्चहरू स्थापना भइसकेका छन् ।
उहाँ भन्नुहुन्छ, “जापानमा परमेश्वरको महिमाको काम हुँदैछ। नेपाली चर्चहरू वृद्धि हुँदैछन् ।” रोजगारी तथा अध्ययनका लागि नेपालीहरू जापान जानेको प्रचलन बढेसँगै उत्साह नेपाली चर्चमा पनि सदस्यहरूको सङ्ख्या बढ्दै गएको छ । मण्डलीको जिम्मेवारी बढ्दै गएपछि उत्साह नेपाली चर्चका संस्थापक पास्टर चन्द्रकुमार खपाङ्गी पूर्णरूपमा सेवामा लागिरहनुभएको छ । पूर्णरूपमा पास्टरीय सेवकाइ गर्न पाउँदा आफू खुशी र आनन्दित रहेको पास्टर खपाङ्गी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “केही वर्ष अघि चर्चले पूर्ण रूपमा सेवकाइका लागि मलाई प्रस्ताव गरेको थियो, तर मैले मानेको थिइनँ । परमेश्वरको योजनाअनुसार पूर्ण रूपमा सेवाका लागि तयार हुनुप¥यो । सेवामा आनन्दित हुन्छु ।”
जापानमा प्रत्येक वर्ष विभिन्न देशका चर्चहरूको संयुक्त संगति हुन्छ । जापानमा स्थापना भएका विभिन्न देशका चर्चहरूको संयुक्त संगतिमा उत्साह नेपाली चर्चले पनि भाग लिँदै आएको छ । संयुक्त संगतिमा उत्साह चर्चले विभिन्न भूमिका निर्वाह गर्दै आएको छ । कहिले वचन, कहिले आराधना लगायत अन्य धेरै जिम्मेवारी उत्साह नेपाली चर्चलाई प्रदान गरिन्छ । https://bolawat.com/




