मेलम्चीमा पहिरो, ८ जना वेपत्ता, एक जनाको जीवितै उद्धार

१९ साउन, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् । एकजनालाई भने प्रहरीले उद्धार गरेको छ ।
कभर्ड हल निर्माणमा खटिएका कामदारहरु गएराति करिब दुई बजेतिर आएको पहिरोमा पुरिएका हुन् । प्रहरी तीन बजेतिर उद्धारमा खटिएको थियो ।तीन घण्टाको प्रयासमा एक जना भारतीय नागरिकलाई जीवितै उद्धार गरेर प्रारम्भिक उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी प्रज्ज्वल महर्जनले जानकारी दिए ।
मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले आठ जना मजदुर पहिरोमा पुरिएको र उनीहरुलाई अझै ननिकालिएको बताए । प्रहरीले पहिरोमा पुरिएकाहरुको खोजी प्रयास भइरहेको जनाएको छ । नेपाली सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । गत असार २४ गते राति सिन्धुपाल्चोकका भोटेकोसी, बुलकुटे र ठाडो खोलामा आएको बाढी पहिरोमा वेपत्ता भएका २० जना अझैसम्म फेला परेका छैनन् ।




