एनपीएल फाइनलको टिकट केही मिनेटमै सोल्डआउट
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार टिकट बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्ने प्रयास गरेका थिए ।

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलका टिकट बिक्री खुला भएको केही मिनेटमै सबै बिक्री भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्ने प्रयास गरेका थिए । क्यानले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै क्रिकेट मैदानको क्षमताअनुसार टिकटको संख्या सीमित रहेकाले बिक्री खुला भएको केही मिनेटमै सबै टिकट सकिएको जनाएको छ ।
एनपीएलको फाइनल खेल शुक्रबार मंसिर ५ गते हुँदैछ । टिकट खरिद गर्न नपाएका समर्थकलाई अनलाइन तथा आधिकारिक प्लेटफर्ममार्फत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग हेरेर साथ दिन क्यानले आग्रह गरेको छ । नेपाली क्रिकेट र एनपीएलप्रति दर्शकले देखाएको उत्साहका लागि आभार व्यक्त गर्दै क्यानले टिकट खरिद गर्न नपाएका दर्शकलाई परेको असुविधाप्रति क्षमा पनि मागेको छ ।




