अन्तरर्वार्ता

‘विवादमा पर्छु कि भन्ने डर लाग्थ्यो’ : प्रविशा अधिकारी

गायिका प्रविशा अधिकारीले नेपाली चलचित्रको पाश्र्व गायनमा यात्रा थालेको एक दशक भन्दा बढी भैसकेको छ । नेपाली सांगीतिक क्षेत्रमा उनको स्वरमा समावेश थुप्रै गीतले दर्शक तथा श्रोताको माया पाएका छन् । तर, जती चर्चा उनको स्वरमा समावेश गीतको भयो, सो अनुसारको चर्चा प्रविशाको भने भएन । तर, विगत एक सातादेखि उनको चर्चा फेरि चुलिएको छ ।

‘भ्वाइस अफ नेपाल ३’ फाइनलमा उनले गाएको गीत र उनको स्वरको चर्चा सामाजिक संजालमा खुबै छ । प्रविशाले सर्वत्र प्रशंसा पनि बटुलेकी छिन् । भ्वाइसको स्टेजमा उनले आफ्नो स्वर रहेको चलचित्र ‘रोज’को ‘फूल हैन’ र ‘ए मेरो हजुर ३’को ‘जिन्दगी नै भन्दिनँ’ बोलको गीत गाएकी थिइन् । ‘भ्वाइस अफ नेपाल’को स्टेजमा गीत गाएपछि धेरैले फोन गरेर बधाई दिए । धेरैले म्यासेज गरेर उनको स्वरको तारिफ गरे । अधिकांशले भने–‘प्रविशाजी तपाई त भाइरल हुनुभएछ ।’ सबैबाट तारिफ पाउँदा प्रविशा खुशी छिन् । यद्यपी, आफू भाइरल भए भनेर फुर्किने पक्षमा भने उनी छैनन् ।

उनले अनलाइनखबरसँग भनिन्–‘सबैको तारिफ पाउँदा निकै खुसी छु । यद्यपी संगीतमा लामो बाटो जानु छ । त्यसैले फुर्किने भन्दा पनि सम्हाल्दै अगाडि बढ्ने कुरामा ध्यान दिएकी छु ।’ सांगीतिक क्षेत्रमा लामो समय बिताएकी प्रविशाको धेरै गीतहरु रुचाईएका छन् । सो अनुसार उनको चर्चा भएको थिएन । त्यसमा प्रविशा स्वयंम आफ्नै कारण रहेको बताउँछिन् । ‘हरेक कुराहरुलाई मैले झेल्न सक्छु भन्ने आत्मविश्वास ममा थिएनँ । मिडियासँग कुराकानीका लागि डराउने, विवादमा पर्छु कि भनेर डराउने गर्थेँ, प्रविशाले अनलाईनखबरसँग भनिन्, ‘मेरो कारणले नै पछाडि बसेकी हुँ । यद्यपी अहिले त्यो कुराले कुनै पछुतो भने लागेको छैन ।’

विगतलाई फर्किएर हेर्दा अहिले आफूमा हरेक कुरामा आत्मविश्वास धेरै बढेको प्रविशा बताउँछिन् । उनी लामो समयसम्म सांगीतिक क्षेत्रमा टिकिरहनु र अहिले आएर यसरी चर्चा हुनु आफ्नो लागि अझ ठूलो कुरा भएको बताउँछिन् । प्रविशा ‘भ्वाइस अफ नेपाल किड्स’को निर्णायकका रुपमा समेत आबद्ध भएकी छिन् । ‘यसो सोच्दा मैले डिजर्भ गरिहाल्ने कुर्ची होइन कि भन्ने पनि लाग्छ । फेरि, प्रोफाइल अलिकति बनाएरै जानुपर्छ भन्ने लाग्थ्यो’ ‘भ्वाइस अफ नेपाल किड्स’को निर्णायकका रुपमा आबद्ध हुनुको कारणबारे उनी भन्छिन्–‘त्यो आफैमा एउटा राम्रो प्लेटफर्म हो । त्यहाँ जाने रहर जो कोहीलाई हुन्छ । सांगीतिक क्षेत्रको अनुभवका हिसाबले सक्छु कि भन्ने हिम्मत र बच्चाहरु एकदमै मनपर्ने भएका कारण जोडिएकी हुँ ।’

अहिले प्रविशा नयाँ गीतको तयारीमा छिन् । आफ्ना विगतका गीतहरु भन्दा फरक स्वादमा ‘शब्द’बोलको गीत ल्याउने तयारी गरेको प्रविशाले बताईन् । गीतमा उनकै शब्द, संगीत, स्वरसँगै अभिनय रहनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>