खेलकुद

नवौं खेलकुद र नेपाल टी–२० लिग एकै समयमा हुदै

१३ साउन, काठमाडौं। बृहत नवौं राष्ट्रिय खेलकुद र नेपाल टी–२० लिगको समय जुध्ने भएको छ। दुई प्रतियोगिता एउटै समयमा पर्दा क्रिकेट खेलाडीहरुको समय व्यवस्थापन भने कठिनाइ हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्ससँग मिलेर आयोजना गरेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिग ८ असोजदेखि सुरु हुँदैछ। यो प्रतियोगिता झण्डै एक महिना अर्थात् ५ कात्तिकसम्म चल्नेछ। गण्डकी प्रदेशमा हुने बृहत नवौं राष्ट्रिय खेलकुद आयोजनाको मिति पनि २८ असोजदेखि ३ कात्तिकसम्म निर्धारण भएको छ। क्यानले ४ जेठमा नेपाल टी–२० लिगको घोषणा गरेको थियो। त्यतिबेलासम्म राष्ट्रिय खेलकुद २२ जेठदेखि २८ गतेसम्म आयोजना मिति तोकिएको थियो।

तर मन्त्रिपरिषद्‍ले १० जेठमा राष्ट्रिय खेलकुद सारेर असोज-कात्तिकमा गर्ने निर्णय गरेको थियो। नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषदले नवौंमा समावेश भएका ३६ खेलका स्पर्धाहरु सम्बन्धित खेल संघले नै आयोजना गर्नुपर्ने बताएको छ। एकै समयमा दुई प्रतियोगिता पर्दा क्यानलाई प्राविधिक र प्रशासनिक रुपमा व्यवस्थापनको कठिनाइ हुनेछ। नवौं राष्ट्रिय खेलकुद सचिवालय प्रमुख फडिन्द्र पौडेलले सरकारको प्राथमिकतामा बृहत राष्ट्रिय खेलकुद पर्ने बताउँछन्।

नवौं अघि नै मिति घोषणा भएको प्रतियोगिता के गर्ने भन्नेबारे युवा तथा खेलकुद मन्त्रालय, राखेप र क्यानबीच सहमतिपछि निर्णय गर्ने उनको भनाइ छ। ‘नवौं खेलकुद भनेको बृहत राष्ट्रिय उत्सव हो। यसको मितिसँग अन्य प्रतियोगिता जुधाउन मिल्दैन। तर, पहिल्यै घोषणा भएको हकमा सल्लाहमा निर्णय लिइनेछ’ पौडेलले अनलाइनखबरसँग भने। दुई प्रतियोगिताको आयोजना मिति जुधेकोबारे क्यानले अघिल्लो साता राखेपका नेतृत्वसँग छलफल समेत गरेको थियो।

क्यानले एकै समयमा दुई प्रतियोगिता गर्न नसक्ने बरु नवौं खेलकुदअन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता केही समयपछि सार्न अनुरोध गरेको थियो। ‘पोखरामा एउटामात्र रंगशाला भएका कारण पुरुष र महिलाको प्रतियोगिता एकैपल्ट आयोजना गर्न यसै पनि सम्भव हुँदैन। नवौंको समयमा महिला प्रतियोगिता आयोजना गर्ने र नेपाल टी–२० लिग सकिएलगत्तै पोखरामै पुरुष क्रिकेट गर्ने गरी प्रस्ताव गरेका हौं’ मिडिया कमिटी संयोजकसमेत रहेका क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठकले भने।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>