
२४ साउन, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिहरुको भाषा, संस्कृति र लिपीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका छन्।
२८औँ विश्व आदिवासी दिवसको अवसरमा मंगलबार नेपाल आदिवासी जनजाति महासंघले गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले आदिवासी जनजातिको भाषा, संस्कृति र लिपीको संरक्षणका लागि सरकार गम्भीर रहेको बताएका हुन्। ‘विभिन्न सूचीकृत आदिवासी, जनजातिहरुको जीवित मातृभाषाहरु छन्। ती सबै अमूल्य भाषा, संस्कृति, लिपीको संरक्षण गर्नु राज्यको दायित्व हो । यसतर्फ सरकार गम्भीर छ’, उनले भने।
प्रधानमन्त्री देउवाले आदिवासी जनजातिहरुको हकहितको संरक्षण तथा संवद्धनका लागि आफू सधैं प्रतिवद्ध रहेको पनि बताए। उनीहरुलाई राज्यको मूलधारमा ल्याई कुनैपनि किसिमको अवसरबाट वञ्चित हुन नदिन सबै मिलेर काम गर्नुपर्ने उनले बताए। ‘नेपालका आदिवासी जनजातिहरुको हकहितका संरक्षण, संवद्र्धन तथा सांस्कृतिक पहिचानको सवालमा म सदा प्रतिवद्ध रहने छु ।
आदिवासी जनजातिको पहिचानलाई संरक्षण गर्दै उनीहरुलाई राज्यको मूलधारमा ल्याई कुनैपनि किसिमको अवसरबाट वञ्चित हुन नदिन हामी सबैले मिलेर कार्य गर्न आवश्यक छ’ देउवाले भने । उनले आदिवासी जनजातिको परम्परागत सीप र कौशल नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।




