वरिष्ठ पत्रकार गणेश राईलाई किरापद्वारा सम्मान

काठमाडौं। किरात राई पत्रकार संघ उपत्यका समन्वय समितिले संघका संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार गणेश राईलाई सम्मान गरेको छ।
काठमाडौंमा शुक्रबार संघको पाँचौ अधिवेशन उद्घाटन समारोहकाबीच निवर्तमान अध्यक्ष प्रकाश चाम्लिङ र किरात राई पत्रकार संघ केन्द्रीय अधिवेशन आयोजक समितिका संयोजक अवतार राई लगायतले सम्मानपत्रका साथमा किराती परम्पराअनुसार फेटा लगाएर सम्मान गरेका हुन्। कान्तिपुर दैनिकमा कार्यरत वरिष्ठ पत्रकार राईले छरिएर रहेका किरात पत्रकारलाई संगठित गर्दै हक अधिकार र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ संस्था स्थापनामा अगुवाई गरेको र हालसम्म पनि संस्थालाई गति दिन उद्देश्य अनुरुप चलायमान बनाउन देखाउनु भएको सकृयताको उच्च सम्मान गर्दै सो सम्मान गरिएको निवर्तमान सचिव झिल खिम्बुलेले जानकारी दिए।
उद्घाटन समारोहका प्रमुख अतिथी अवतारले समितिले बरिष्ठ पत्रकार गणेश राईलाई सम्मान गर्नु सन्देशमुलक र उदाहरणीय रहेको बताए। संयोजक राईले संघ अहिले केन्द्रीय अधिवेशनमा केन्द्रित रहेको जानकारी दिए। कार्यक्रममा किरात राई पत्रकार संघका निवर्तमान केन्द्रीय सचिव सन्दीप राई, आयोजक समितिका सदस्य सचिव कृष्णजित राई, सदस्य प्रविक कुलुङ लगायत उपस्थिति थियो। २०६४ सालमा स्थापना भएको यस संघले करिव १५ वटा जिल्लामा संगठन विस्तार गरिसकेको छ। किरात राई पत्रकार संघको राष्ट्रिय अधिवेशन यही भदौ ३१ गते गते काठमाडौंमा हुँदैछ। यस्तै पाँचौ अधिवेशनले उपत्यका समन्वय समितिमा पत्रकार श्याम राईको नेतृत्वमा ९ सदस्यीय कार्य समिति सर्वसहमत चयन गरेको छ।





