अन्तराष्ट्रिय

आकाशबाट बम खसे पनि गाजा छोड्न चाहँदैनन् उनीहरू

२९ असोज, काठमाडौं। इजरायलले उत्तरी गाजापट्टी खाली गर्न दिएको समय सकिइसकेको छ। गाजामा रकेट आक्रमण गर्दै आएको इजरायली सेना अब जमिनबाटै गाजामा घुस्ने तयारीमा छ।

इजरायली सेनाले गाजामा प्रवेश गरेर के गर्ने हो कुनै टुंगो छैन। तर पनि गाजाका बासिन्दा आफ्नो वासस्थान छाडेर अन्यत्र जान तयार छैनन्। ४२ वर्षका इब्राहिम गाजाकै विभिन्न ठाउँबाट एकीकृत भएका आफन्तसँग एउटा सानो कोठामा बसिरहेका छन्। कोठामा भएकाहरु कहिले एकआपसमा गफ गर्छन् त कहिले आफ्नो फोनमा इजरायल हमास युद्धका बारेमा आएका समाचार पढ्छन्। इब्राहिम भन्छन्, ‘मैले आफ्नो जमिन छोड्ने छैन, म कहिल्यै छाड्दिनँ।’

उनी अघि थप्छन्, ‘यदि उनीहरुले हाम्रो शिरमाथिको यो छतलाई ध्वस्त बनाए पनि म दोस्रो ठाउँ जान सक्दिनँ, म यहीं बस्छु।’ गत हप्ता हमासले इजरायलमा आक्रमण गरेपछि इब्राहिम पहिला नै गाजा शहरको एक दुई ठाउँमा गएका छन्। उनले भने, ‘गत आइतबार राति २ बजे आक्रमण भयो, रकेट हानियो, म श्रीमती र ४ बच्चा लिएर भागें ।’ इब्राहिमको र उनको परिवार जबालिया क्षेत्र छाडेर शेख रदवान पुगेका थिए। त्यहाँ पुगेपछि उनलाई थाहा भयो कि यो ठाउँमा पनि हमला गरिनेछ। त्यसपछि उनी गाजाको बाहिरी क्षेत्रमा रहेको एउटा बस्तीमा पुगे।

त्यहाँ पनि असुरक्षित रहेपछि अब उनलाई उत्तरी गाजा छाड्नु सही लागेको छैन। उनी प्रश्न गर्छन्, ‘हामीलाई दक्षिणी गाजामा जानका लागि भनेका छन्, म र मेरो परिवार कहाँ जाओस्।’ उनका बच्चालाई आफ्नो घरको बगैंचा याद आउँछ, उनको छोरा अहमदलाई साथीहरुसँग घर वरपर साइकल चलाउन मन पर्छ। अहमदले इब्राहिमलाई आफ्ना साथीहरु जिउँदै छन् भनेर सोध्छन्। उनीसँग साथीहरु भेट्न जाने बाटो नै छैन। इब्राहिमको घर नजिकैको गल्लीमा ३८ वर्षीय अबु जमिल पानीको पाइप छेउमा बसेका छन् र आखिरी थोपालाई बाहिर निकाल्ने प्रयासमा छन्। ‘८ दिनदेखि यहाँ न त खाना छ न त पानी’ जमिल भन्छन्।

इजरायलले गाजामा बिजुली र पानीको आपूर्ति बन्द गरिदिएको छ । साथै इन्धन र बाँकी सामानलाई यहाँ ल्याउन रोक लगाएको छ। ‘पानी छैन, बिजुली छैन, जीवन छैन, कति कठिन छ’, जमिल भन्छन्। तर पनि जमिल आफ्ना ५ बच्चासँगै उत्तरी गाजामै बस्ने निर्णय गरेका छन्। उनका दुई छोरा र ३ छोरी छन्। सबैभन्दा सानोको उमेर ४ वर्ष मात्र भएको छ। उनी भन्छन्, ‘हाम्रो जाने कुनै ठाउँ छैन, उनीहरुले हाम्रो घरमै हमला गरे पनि हामी यहाँबाट अन्त जाँदैनौं, ५-६ सदस्यीय परिवारलाई लिएर हामी कहाँ जान सक्छौं र ?’

जमिल र इब्राहिमले उत्तरी गाजामै बस्ने निर्णय गरे पनि इजरायली सेनाको आदेशपछि साढे ४ लाख जनाले आफ्नो घर छाडेका छन्। ११ लाख जनसंख्या रहेको यो शहरबाट ४८ घन्टामा उनीहरु सलाह अल-दिन रोडहुँदै दक्षिणी गाजामा गएका हुन्। गाजाबाट इजरायली सीमा क्षेत्रको एक किलोमिटर टाढा हेर्‍यो भने गाजामा अब के हुन्छ भन्ने अनुमान गर्न गाह्रो छैन। नजिकैको राजमार्गमा हतियारधारी सैनिक घुमिरहेका छन्। आकाशमा सेनाको ड्रोन उडिरहेको छ।

यहीबीचमा नजिकै गाजातिरबाट एउटा सानो विस्फोटको आवाज आयो, त्यसको बदलामा इजारायली ट्याङ्कले बम बर्सायो। यो दृश्यले यहाँ जुनसुकै बेलामा पनि इजरायली सेनाले जमिनी हमला गर्ने खतरा छ। ७ अक्टोबरको बिहान हमासले हमला गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई सखाप पार्ने योजना बनाएका छन् । जुन योजनाको केन्द्रमा यो क्षेत्र रहने निश्चित छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>