राजनीति

मन्त्रिपरिषदको बैठक नयाँ हलमा जारी

४ पुस, काठमाडौं । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ हलमा जारी बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार अबदेखि मन्त्रिपरिषदको बैठक नयाँ हलमा नै बस्ने छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्ष पनि सिंहदरबारमा पश्चिमतर्फको (रेट्रो फिटिङ भएको) भागमा सारिएको थियो । २०७२ को भूकम्पले क्षति पुगेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रबलीकरण शहरी विकास मन्त्रालयले गरेको थियो । २ वर्षभित्र सक्ने गरी लगाइएको पुनर्निर्माणको ठेक्का करिब साढे ४ वर्षपछि सकिएसँगै प्रधानमन्त्री प्रचण्डले भूकम्पअघिकै कार्यकक्ष प्रयोग थालेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयभित्रका स्टेट हल र बेलायती कक्ष तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले निर्माण र प्रयोग गरेका कक्ष हुन् । यी कक्षहरु विगतमा २०७२ अघिका प्रधानमन्त्रीहरुले पनि प्रयोग गरेका थिए । पश्चिम मोहोडाका यी विशिष्ट पाहुनाहरुसँगको बैठक गर्ने विशिष्ट र ऐतिहासिक कक्षहरु तयार भएसँगै सिंहदरबारको मूल भवनको पुनर्निर्माणको काम लगभग सकिएको छ ।

अब प्रधानमन्त्रीको कार्यकक्षसँगै पुरानै स्वरुपमा पुनर्निर्माण भएका स्टेट हल र बेलायती कक्ष पनि प्रयोगमा ल्याउने तयारी छ । यसअघि प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनर्निर्माण गरिएको सिंहदरबारको भागको संयुक्त रुपमा अवलोकन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>