राजनीति

गठबन्धनका सबै प्रमुख दल एमसिसी टेबल गर्न तयार

लामो वादविवादपछि सत्ता गठबन्धनका सबै दलहरू एमसिसी प्रतिनिधिसभामा टेबल गर्न तयार भएका छन्।

नेकपा माओवादी केन्द्रका एक नेताले उनको पार्टी पनि एमसिसी संसदमा टेबल गर्न दिन तयार भएको बताए।‘गठबन्धनका अरू सबै दल तयार देखिएपछि हामीले मात्र रोकेर भएन,’ ती नेताले भने, ‘अहिले गठबन्धनको बैठकबाट टेबल गर्ने विषयमा निर्णय हुन्छ होला।’ प्रधानमन्त्री शेरबहादुर देउवानिकट एक नेताले पनि आज एमसिसी प्रतिनिधिसभामा टेबल हुने सहमति हुने बताए। उनले भने, ‘कदाचित एमसिसी टेबल भएन भने त्यही क्षणबाट गठबन्धन बिसर्जन हुन्छ।’ आफूहरूले यो सन्देश गठबन्धनका नेताहरूलाई दिइसकेको पनि उनले दाबी गरे।

एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज एमसिसी टेबल हुन दिनुपर्ने पक्षमा उभिइसकेको भन्दै उनले भने, ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि त्यसमा मनाउने बचन उहाँले दिनुभएको छ।’ पाँच दलीय गठबन्धनमध्ये चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा भने एमसिसीको विपक्षमा छ। आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। त्यसअघि सभामुख अग्नि सापकोटाले ११ बजे कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन्।

उक्त बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्ने बताइएको छ। आजै १० बजे प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनको बैठक बोलाएका छन्। सत्ता गठबन्धनभित्र एमसिसी टेबल गर्ने विषयमा विवाद रहँदै आएको छ। एकीकृत नेकपा समाजवादीले शनिबार एमसिसी टेबल हुन दिने निर्णय गरे पनि पार्टीभित्र विवाद छ। वरिष्ठ नेता झलनाथ खनालको समूहले एमसिसी यथाअवस्थामा टेबल हुन दिनु हुँदैन भन्ने पक्षमा छ। नेकपा माओवादी केन्द्रले एमसिसी टेबल गर्न नदिने भनिरहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>