
नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् ।
काठमाडौंमा भएको महाधिवेशनबाट अध्यक्षमा नेपाल चयन भएका हुन्। नेपाल यसअघि पनि एकीकृत समाजवादीको अध्यक्ष नै थिए । बिहीबार नै बसेको सचिवालय बैठकले अध्यक्षमा नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई चयन गर्ने सहमति गरेको थियो।
उक्त सहमतिलाई महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले महाधिवेशन हलमा पेस गरेका थिए । महाधिवेशन हलले उनीहरूलाई सर्वसम्मत चयन गर्ने सचिवालयको निर्णय अनुमोदन गरेको हो । गत असार १६ गतेदेखि काठमाडौंको कमलादीमा एकीकृत समाजवादीको १० औं महाधिवेशन चलेको थियो ।
बिहीबार अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसहमतिमै टुंगो लगाएको एकीकृत समाजवादीले शुक्रबारसम्म थप पदाधिकारी र केन्द्रीय सदस्य पनि सहमतिबाटै टुंगो लगाउने भएको छ। सम्मानित नेता खनालले शुक्रबारसम्म बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो सहमतिबाटै लगाइने महाधिवेशन हलमा बताएका छन् । एकीकृत समाजवादीमा पदाधिकारी संख्या २१ सदस्यीय र केन्द्रीय समिति सदस्य संख्या २९९ सदस्यीय छ ।




