राजनीति

विश्वासको मत माग्दै प्रचण्डले भने-यस्तो धोका कसैमाथि नहोस् (पूर्णपाठ)

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी आन्दोलनको भावुक बहकाउमा नै आफूले नेकपा एमालेसँग गठबन्धन गरेको बताएका छन् । तर, आफू एमाले अध्यक्ष केपी शर्मा ओलीको लामालामा मीठा र भरोसापूर्ण संवादहरूबाट अल्मल्याइएको सुनाए ।

प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधामनन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई धोकाबाट बच्न सुझाव पनि दिए । ‘निर्वाचनपूर्वकै गठबन्धन अर्थात् नेपाली कांग्रेससहितको सत्ता समीकरणमा म प्रधानमन्त्रीका रूपमा त सुरक्षित थिएँ तर मेरो छटपटी अनुसारको समन्वय भएन,’ उनले भने,‘सरकार असफल भएको त होइन तर मेरो अपेक्षाअनुसार गति लिन सकेन । कांग्रेसको शीर्ष नेतृत्वसँग असमझदारी भएर, सत्ताको संकट भएर वा अविश्वास भएर मैले गठबन्धन परिवर्तन गरेको होइन भनेर मैले त्यतिबेलै संसदमै भनेको हुँ ।’ तेज गतिमा सरकार चलाएर लोकतन्त्रप्रति जनताको भरोसा बढाउने हुटहुटी र अलिअलि वामपन्थी आन्दोलनको भावुक बहकाउले नै आफूलाई एमालेसहितको गठबन्धनमा लगेको उनले बताए । सरकारको गियर परिवर्तनका लागि एमालेसँगको ठीकै बाटो हो भन्ने मानेको पनि सुनाए ।

‘नयाँ उदाएका शक्तिहरू पनि सरकारमा आएपछि तुलनात्मक रूपमा सकारात्मक वातावरण बन्यो पनि । जनतामा आशा पनि जाग्यो । तर, जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ, त्यो षड्यन्त्र थियो भन्ने थाहा पाउन म ढिलो भएँ,’ उनले भने,‘केही मान्छेहरू कहिल्यै कुण्ठा र प्रतिशोधबाट निस्किन सक्दैनन् भनेर मैले हिसाब गरिनँ, समयले मान्छेलाई सुधार्छ भन्ने विश्वास गरेँ, स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ ।’ यसको नैतिक जिम्मेवारी लिन तयार रहेको भन्दै उनले नयाँ सत्ता समीकरण बनाइरहेकाहरूलाई आपसी अनुभव अप्रिय नहोस् भन्ने शुभकामना पनि दिए । ‘कसैमाथि धोका नहोस् । मेरो शुभकामना छ ,’ उनले भने,‘ तपाईंहरू मिल्नुस्, केही छैन । पहिलोपटक मिल्नुभएको पनि होइन, अन्तिमपटक मिल्नुहुने पनि होइन ।’

जनताका अधिकार खोस्ने विषय दिमागबाट निकाल्न भन्दै उनले अधिकार उपभोग गरिसकेको जनताका उपलब्धि खोस्न सजिलो नहुने बताए । त्यस्तो प्रयास भयो भने संसद र सडकमा ठूलो प्रतिरोध हुने भन्दै प्रचण्डले भने,‘म सँग रिस फेर्ने कुण्ठामा सीमान्त वर्ग र समुदायलाई जिस्क्याउने गल्ती नगर्नुहोस् । भूईं मान्छेहरूको प्रतिरोध र विद्रोहको तागत आफ्नै जीवनकालमा आफ्नै आँखाले देखिसक्नुभएको छ, त्यही अवस्था फेरि ननिम्त्याउनुहोस् ।’ क्रान्तिको शक्ति लिएर शान्तिको ढोका खोल्ने प्रचण्ड छिटै फेरि नजन्मिन पनि सक्ने भन्दै उनले अघि भने,‘तपाईंहरूले जगाउने आक्रोश र अस्थिरताको आगो राष्ट्रकै लागि महङ्गो पर्न सक्छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>