दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड उद्धार कोषमा

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीले ल्याएको बाढीका पीडितहरूको राहत, उद्धार र पुनःस्थापनाको लागि नेपाल दूरसञ्चार प्राधिकरणले १५ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।
प्राधिकरणले यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रवेश गराउने निर्णय अनुसार शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रम मार्फत चेक हस्तान्तरण गर्यो । उक्त कार्यक्रम सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको उपस्थिति र प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १५ करोड रुपैयाँको चेक हस्तान्तरण गरे ।
बाढीले रसुवा र त्यस आसपासको क्षेत्रमा जनधन तथा भौतिक संरचना मा ठूलो क्षति पुर्याएपछि असर परेको नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापनाको लागि सरकार र विभिन्न निकायबाट सहयोग सङ्कलन गर्ने काम हुँदैआएको छ । यो क्रममा प्राधिकरणले विपद् व्यवस्थापनमा संस्थागत योगदान दिने निर्णय गरेको हो ।
प्राधिकरणका अनुसार, विपद्को यस कठिन समयमा प्रभावित नागरिकलाई तत्काल राहत प्रदान गर्न र प्रभावित क्षेत्रको पुनःस्थापनामा सहकार्य गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यो रकम जम्मा गर्ने निर्णय भएको हो । साथै, प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरूलाई पनि बाढीले सिर्जित विपद् व्यवस्थापनमा आफ्नो तहबाट सकेसम्म सहयोग पुर्याउन आग्रह गरेको छ ।




