न्यू बुटवल–गोरखपुर प्रसारणलाइनको शिलान्यास

१८ जेठ, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा ४०० केभी क्षमताको न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको भारततर्फको खण्डको शिलान्यास गरिएको छ। नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा स्वीच थिचेर प्रसारणलाइनको शिलान्यास गरेका हुन्।
यो ढल्केबर–मुजाफ्फरपुर प्रसारणलाइनपछि भारतसँग बन्न लागेको दोस्रो ४०० केभीको प्रसारणलाइन हो। न्यू बुटवल–गोरखपुर प्रसारणलाइन नेपालमा अमेरिकी अनुदान कार्यक्रम एमसीसीअन्तर्गत बनिरहेको प्रसारणलाइनसँग जोडिनेछ। यो प्रसारणलाइनको भारततर्फको खण्डको मात्रै शिलान्यास भएको हो। भारतीय खण्डको निर्माण बुटवल–गोरखपुर क्रस बोर्डर ट्रान्समिसन लिमिटेड (बीजीसीपीटीएल)ले गर्दैछ।
बीजीसीपीटीएल नेपाल र भारतबीचको दोस्रो अन्तरदेशीय प्रसारणलाइनको निर्माण गर्न नेपाल विद्युत प्राधिकरण मिलेर स्थापित संयुक्त कम्पनी हो। यो कम्पनीले न्यू बुटवल–गोरखपुर ४०० केभी प्रसारणलाइनअन्तर्गत भारततर्फ पर्ने लाइन निर्माण गर्ने छ। यसमा नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको स्वामित्वको पावर ग्रिड कर्पोरेसन अफ इण्डिया लिमिटेडको ५०/५० प्रतिशत सेयर स्वामित्व छ। कम्पनीको ५० प्रतिशत स्वामित्व हुन आउने ४६ करोड भारतीय रुपैयाँ (७३ करोड ६० लाख रुपैयाँ) रकम लगानी गर्न नेपाल विद्युत् प्राधिकरणले स्वीकृति पाइसकेको छ।
नेपाल–भारत ऊर्जा सचिव तथा सहसचिवहरुको संयन्त्रको २०७६ असोज २७ र २८ गते भएको सातौं बैठकले प्रसारणलाइन निर्माणको लगानीको स्वरुपलाई टुंगो लगाएको थियो। अनुमानित लागत ७ अर्ब ३९ करोड रुपैयाँ रहेको आयोजनाको वित्तीय व्यवस्थापन ८० प्रतिशत ऋण र २० प्रतिशत इक्विटीबाट जुटाइने छ। नेपालतर्फको प्रसारणलाइन भने प्राधिकरण आफैंले गर्ने तयारी हुँदैछ। नवलपरासीको सुनवल नगरपालिका–१३ मा रहेको न्यू बुटवल सबस्टेसनबाट सुरु भई भारतको गोरखपुर सबस्टेसनसम्म पुग्ने ४०० केभी डबल सर्किट प्रसारणलाइन करिब १२० किलोमिटर छ । त्यसमध्ये नेपालतर्फ करिब २० किलोमिटर र बाँकी भारततर्फ पर्छ।