
३० असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई प्राथमिकता दिँदै जनतालाई केन्द्रमा राखेर काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
७१औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शून्य सहनशीलताको नीति अपनाउनुपर्ने बताएका छन् । उनले प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार र निष्पक्ष अनुसन्धानमा जोड दिनु पर्ने उल्लेख गर्दै भ्रष्टाचार तथा शक्तिको दुरुपयोगविरुद्ध शून्य सहनशीलता अपनाउनुपर्ने विषयमा जोड दिए ।
उनले साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा पनि प्रहरीको क्षमता बढाउनु पर्ने बताए । नागरिकको विश्वास जित्न प्रहरीको काम गर्ने शैली र व्यवहारमा जवाफदेहिता आवश्यक रहेको उनको धारणा थियो । ‘प्रहरीको बर्दी डरको प्रतीक होइन, बरु आशा, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ,’ उनले भने, ‘सही कार्य गर्ने प्रहरीको साथमा सरकार सधैं रहनेछ, तर गलत कार्यको संरक्षण गरिने छैन ।’




