अर्थ खबर

पोखराका प्याराग्लाइडिङमा भारी छुटको घोषणा

पोखरा । कोभिड कहरले शून्यप्रायः बनेको पर्यटन क्षेत्रलाई त्राण भर्न दसैं अघि पोखराका व्यवसायीले प्याराग्लाइडिङमा भारी छुटको घोषणा गरे । प्याराग्लाइडिङमा व्यवसायीले ल्याएको नयाँ प्याकेजअनुसार अहिले ३ हजारदेखि ३५ सय रुपैयाँसम्ममा पर्यटकले प्याराग्लाइडिङ उडान भर्न पाएका छन् ।

ठप्पै रहेको पर्यटन व्यवसाय व्यवसायीको यो प्याकेजसँगै केही हदसम्म तंग्रिएको छ । यतिबेला पोखरामा प्याराग्लाइडिङ गर्ने आन्तरिक पर्यटकको घुईंचो नै लागेको छ । दैनिक ८ सय हाराहारीमा प्याराग्लाइडिङले उडान भरिरहेका छन् । प्याराग्लाइडिङ व्यवसायीले उडानमा ६० प्रतिशतसम्म छुट दिने भई सकेपछि पोखरामा चहलपहल बढेको हो । अन्य पर्यटकीय गतिविधि सञ्चालनमा नआएको र प्याराग्लाइडिङमा भारी छुट पनि दिइएका कारण आन्तरिक पर्यटकको चहलपहल बढेको व्यवसायीहरुको ठम्याईं छ ।

पर्यटकीय नगरी पोखरा आउने आन्तरिक पर्यटक अघिल्ला वर्षमा प्याराग्लाइडिङको महङ्गो चार्जका कारण यस्सै फर्किए पनि यसपाली छुट पाएसँगै प्याराग्लाइडिङ गर्ने गरेको व्यवसायीहरु बताउँछन् । ‘अन्य गतिविधि पनि भएन । त्यसमाथि प्याराग्लाइडिङ चार्ज सस्तो पनि भयो’ पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले भने, ‘पहिला महंगो पनि थियो । ७ हजार, ८ हजारसम्म थियो रेट । प्याराग्लाइडिङ गर्न खोजे पनि अलिकति महँगो हुँदा पर्यटकहरु यसै फर्किन्थे, अहिले छुटले पनि प्याराग्लाइडिङ्मा आकर्षण बढेको छ ।’

यसअघि पोखराको आकाशमा स्वदेशी तथा विदेशी दुवै खालका पर्यटकले उडान भर्ने गरे पनि यसपाली भने आन्तरिक पर्यटकहरु मात्र छन् । लामो समयपछि बन्दाबन्दीपछि खुलेको आन्तरिक उडान र सार्वजनिक सवारीले पनि बिस्तारै पर्यटन व्यवसायलाई माथि उठाउँदै लगेको. अध्यक्ष तुलाचनको ठम्याईं छ । दसैंपछि काठमाडौंदेखि पोखरा घुम्न आएका पर्यटक कृष्ण लामाले पहिलो पटक प्याराग्लाइडिङको अनुभव लिन थालेको बताए । यसअघि धेरै पटक पोखरा आए पनि प्याराग्लाइडिङको मज्जा नलिएको उनले बताए । उनीसँगै उनको टिममा ६, ७ जना आएका छन् ।

जोमसोम घुम्न घरबाट निस्किएका लक्ष्मी सुन्दर डमरुले मुस्ताङ बन्द भएपछि यतै रोकिएको बताए । उनको पनि प्याराग्लाइडिङको पहिलो अनुभव रहेछ । काठमाडौंबाटै आएकी अर्की आन्तरिक पर्यटक शिवानी खड्काले प्याराग्लाइडिङ गर्नकै लागि पोखरा आएको बताइन् । कोरोनाले घरभित्रै बसेर उकुसमुकुस भएपछि घुम्न निस्किएको उनले बताइन् । लगभग ७ महिना कामविहिन बनेका प्याराग्लाइडिङ पाइलटलाई पनि यतिबेला भ्याई नभ्याई छ । गएका वर्षहरुमा भन्दा यसपालि दोब्बर पर्यटकको चाप बढेपछि समय तालिका नै मिलाउन गाह्रो पर्ने गरेको प्याराग्लाइडिङ पाइलट गणेश मल्लले सुनाए । ‘लकडाउनअघि सिजनमा ३ सय, ४ सय उडिन्थ्यो । अहिले त त्यसको ठ्याक्कै दोब्बर छ,’ उनले भने, ‘दैनिक ७, ८ सय जतिको उडान भइरहेको छ ।’

अर्का पाइलट दावा शेर्पाले प्याराग्लाइडिङमा नयाँ प्याकेजले पर्यटकको चाप बढाएको बताए । नेपाल हवाई खेलकुद संस्थाका उपाध्यक्ष ईन्द्रप्रसाद भण्डारीले गएका वर्षमा दसैं तिहारको छेकोमा ४ सय हाराहारीमा आन्तरिक र बाह्य पर्यटकले प्याराग्लाइडिङ गर्ने गरे पनि यसपाली दोब्बर बढेको बताए । ‘सुरक्षाका उपायमा त अलिकति कम्प्रमाइज गर्नैपर्छ । किनभने, काखमै राखेर उडाउने हो,’ उनले भने, ‘तैं, पनि सुरक्षित भएर उडाइरहेका छौं । विगतका वर्षमा यो सिजनमा ४ सय हाराहारीमा उडान भए पनि यो वर्ष दोब्बर भएको छ ।’ काठमाडौंसहित देशका अन्य ठूला सहरबाट पनि प्याराग्लाइडिङ गर्न पर्यटकहरु आइरहेको उनले सुनाए ।

अघिल्ला वर्षहरुमा ७५ प्रतिशत विदेशी पर्यटक र २५ प्रतिशत मात्र आन्तरिक पर्यटकले प्याराग्लाइडिङ गर्ने गरे पनि यो वर्ष आन्तरिक पर्यटकहरुले मात्रै पोखराको आकाश ढाकिएको उनले बताए । अहिले पोखरामा प्याराग्लाइडिङ गराउने ६० कम्पनी छन् । ३ सय बढीको हाराहारीमा रहेका प्याराग्लाइडिङ पाइलटले उडान भरिरहेका छन् । प्याराग्लाइडिङ गर्ने आन्तरिक पर्यटकको चाप थेग्न नसकेर समय तालिका सार्नु पर्ने बाध्यता बढेको छ । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले प्याराग्लाइडिङ सञ्चालनमा आएसँगै पर्यटनका अन्य गतिविधि पनि बढ्ने अपेक्षा लिए । होटल व्यवसायीले पनि पर्यटकहरुका लागि विभिन्न छुटको व्यवस्था गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>