मसला, ड्राइफुड र जंकफुडमा बढाइयो कर, फलफूलसमेत महँगिने

१६ जेठ, काठमाडौं। सरकारले विभिन्न गरम मसलाजन्य खाद्यवस्तु, ड्राइफुड तथा जंकफुडसहित इनर्जी ड्रिंक्स लगायतका खाद्यवस्तुमा अन्तःशुल्क र भन्सार दर बढाएको छ। अब आयात हुने इनर्जी ड्रिंक्सदेखि आयात हुने फलफूल पनि महँगिने भएको छ।
सरकारले आर्थिक विधेयक २०७९ मार्फत नरिवलमा अन्तःशुल्कदर ५ बाट १५ प्रतिशत पुर्याएको छ। बदाम, काजु र पिस्ता पनि १५ प्रतिशत पुगेको छ। सुपारी (आरिक नट)मा अन्तशुल्ल्क प्रतिकिलो २५ बाट १०० रुपैयाँ पुगेको छ। मरिच र दालचिनी पनि अन्तःशुल्क दर १५ प्रतिशत कामय भएको छ। ससेज र मासुमा आधारित खाद्य पदार्थमा अन्तःशुल्क १० बाट १५ भएको छ।
चुइगममा १० बाट १५, गुलियो कोको धुलो ५ बाट १५, फ्रेन्च फ्राइमा १० बाट १५, केराउमा अन्तःशुल्क १० बाट १५ प्रतिशत पुगेको छ ।सिमी, कुरिलो, जैतुन, गुलियो मकै, बाँसको तामा र अमिलो फलफूलको आयातमा लाग्ने अन्तःशुल्क पनि १० बाट १५कायम भएको छ। मम्फली बदाम, भुटेको चना, भुइँकटहर, नास्पाती लगायतका फलफूलमा पनि अन्तःशुल्कदर ५ बाट १५प्रतिशत कामय भएको छ।
दालमोठ, नमकिन, भुजियामा पनि अन्तःशुल्क ५ बाट बढाएर १५ प्रतिशत बनाइएको छ। सुर्तिरहित पान मसलामा प्रतिकेजी ८२१बाट ८२१ रुपैयाँ र सुर्तिरहित सुगन्धित सुपारी प्रतिकेजी २८१बाट ३५० रुपैयाँ कायम भएको छ। इनर्जी ड्रिंक्समा प्रतिलिटर १०० रुपैयाँ भन्सार शुल्क पुर्याइएको छ भने अन्तःशुल्क लिटरमा रहेको ३६ बाट ५० रुपैयाँ बनाइएको छ।




