
३ भदौ, काठमाडौं । काठमाडौं उपत्याकामा बुधबार राती १२ बजेदेखि एक साता लामो निषेधाज्ञा सुरु हुँदैछ, बढ्दो कोभिड-१९ संक्रमण रोकथाम तथा नियनत्रणका लागि भन्दै अत्यावश्यक बाहेकका सबै सेवा सञ्चालन एक साताका लागि निषेध गरिएको उपत्याकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।
तर, बजारमा निषेधाज्ञालाई कडा किसिमको कर्फ्यु भनेर प्रचार गरिएपछि खुद्रा साना व्यवसायी तथा सर्वसाधणहरु खाद्यान्न र तरकारीसमेत किन्न नपाउने हो कि भन्ने अन्यौलमा परेका छन् । तरकारी तथा फलफूलको होलसेल बजार बल्खु र कालीमाटीको सञ्चालन बारेमासमेत अन्यौलता देखिएको व्यवसायीहरुले बताएका छन् । प्रशासनको सूचनापछि बजार विकास समितिसँग छलफल गरे पनि समितिनै अन्यौलमा रहेको फलफूल तथा तरकारी बिक्री संस्था कालीमाटीका अध्यक्ष गीता आचार्यले बताए ।
‘हामी पनि अन्यौलमा छौं, अधिकारप्राप्त समिति पनि माथिल्लो निकायबाट थप सूचना नआएको भन्दै केही निर्णय गर्न सकेको छैन,’ आचार्यले भने ‘तरकारी तबजारसम्म त आउला तर तरकारी बिक्रि गर्ने व्यापारी र खुद्रा व्यवसायी कसरी बजार आउँछन् ?’ पहिलोपटकको लकडाउनमा पनि बजार निस्केका व्यापारीलाई प्रहरीले दिनभर नियन्त्रणमा लिएको भन्दै आचार्यले प्रशासनसँग सहजीकरणका लागि आग्रह गरे ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशअनुसार अत्यावश्यकीय वस्तु तथा सेवा निषेधाज्ञाको समयमा निर्बाध सञ्चालनमा आउन पाउने छन् ।
जसअनुसार औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल दूध ढुवानी तथा बिक्रि, विद्युत र दूरसञ्चार सेवा, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाईन सेवालाई यो बेलामा रोकतोक हुने छैन् । यस्तै आइसोलेसन, फोहोर मैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य सहभागी हुनुपर्ने सवारी साधन लगायतका सेवा यो समयमा निर्बाध सञ्चालनमा आउने काठमाडौंका साहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले जानकारी दिए ।
उपत्याकामा सञ्चालन हुने किराना (खाद्यन्न), तरकारी र मासुका थोक तथा खुद्रा पसलहरुकालागि निषेधाज्ञाले असर नगर्ने जिल्ला प्रसाशन कार्यालय काठमाडौंले जनाएको छ । त्यस्ता व्यापार सञ्चालन गर्न प्रशासनले कुनै समय अवधि नतोक्ने तर सामाजिक र व्यक्तिगत दुरी भने कडाईसाथ पालना गर्नु पर्ने साहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेल बताउँछन् । निश्चित समय तोक्ब्दा झनै भिड बढ्ने भएकाले त्यस्ता व्यवसाय पूरै समय सञ्चालनमा आउने उनले बताए ।
‘सामाजिक र व्यक्तिगत दुरी कायम गर्ने, मास्क अनिवार्य गर्ने तथा पसलमा मानिसको भिडभाडलाई कम गरी सेवा सञ्चालन गर्न सकिन्छ,’ सहायक प्रजिअ पौडेलले भने ।




