अभिनेत्री मिरुना मगरविरुद्ध काठमाडौं जिल्ला अदालतमा उजुरी

अभिनेत्री मिरुना मगरविरुद्ध गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता भएको छ। बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन्। तामाङले मिरुनाको अलवा फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध समेत मुद्दा हालेका छन्। काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले अभिनेत्री मगर र प्राविधिक ठकुरी विरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए।
तामाङले आफूमाथि भएको गाली बेइज्जती र कुटपिट सम्बन्धमा माफी माग्ने सवालमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मगरले बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको उजुरीमा उल्लेख गरेको सूचना अधिकारी दाहालको भनाइ छ। गत जेठ काठमाडौंको सिभिल मलस्थित एक कफी सपमा ‘कबड्डी ४’ फिल्मको प्रचारका लागि पुगेकी मिरुनाले आफूलाई फुर्वाले दुर्व्यवहार गरेको भन्दै थप्पड हानेर प्रहरीमा बुझाएकी थिइन्। यो विषयले बौद्ध समुदाय फिल्म विरुद्ध प्रदर्शनमा उत्रिएको थियो। त्यतिबेला यो विवाद दुबै पक्षको सहमतिमा मिलाएको भनिएपनि फेरि बल्झिएको हो।




