अर्थ खबर

चालू वर्षमा ८ सय मेगावाट बिजुली थपिँदै

चालू आर्थिक वर्ष राष्ट्रिय प्रसारण लाइनमा ८ सय मेगावाट बिजुली थपिने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०७९/८० मा ८ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको हो। यस सँगै, नेपालको बिजुली उत्पादनको जडित क्षमता कूल ३ हजार मेगावाट पुग्नेछ। हाल नेपालको कूल जडित क्षमता २१ सय ९० मेगावाट छ। यो उत्पादन सकिएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएका आयोजनाबाट हुने उत्पादन क्षमता हो। गत आर्थिक वर्ष राष्ट्रिय प्रसारण लाइनमा ६ सय मेगावाट बिजुली जोडिएको थियो।

गत आर्थिक वर्षमा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको समेत निर्माण सम्पन्न भएको थियो। यस्तै, यसबाहेक अन्य आयोजनाबाट समेत उत्पादन सुरू भएसँगै वर्षायाममा नेपाललाई चाहिनेभन्दा बढी उत्पादन हुन थाल्यो। यद्यपि, सुख्खा यामको समयमा भने नेपालले भारतबाट बिजुली किन्दै आइरहेको छ। समग्रमा गत वर्षसम्ममा भारतसँगको बिजुली व्यापार घाटामा थियो। जुन, चालू वर्षदेखि नाफामा जाने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए। ‘चालू आर्थिक वर्षमा राष्ट्रिय प्रसारण लाइनमा ८ सय मेगावाट बिजुली थपिने हाम्रो प्रक्षेपण छ,’ निर्देशक घिसिङले भने, ‘तर, यसमा केही तल–माथि हुन सक्छ।’

निर्देशक घिसिङका अनुसार ८ सय मेगावाट बिजुली प्रसारण लाइनमा जोडिने लक्ष्य रहेपनि ७ सय देखि ८ सय मेगावाटको बीचमा बिजुली थपिने छ। यस सँगै, हाल करिब २२ सय मेगावाट आसपास रहेको बिजुली उत्पादन ३ हजार मेगावाट पुग्ने उनले बताए।यस्तै, विद्युत विकास विभागका महानिर्देशक चिरञ्जिवी चटौतका अनुसार चालू आर्थिक वर्षमा नेपालको उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने छ। उनले निजी क्षेत्रको लगानी रहेको अधिकांश आयोजनाहरू चालू वर्षमा सम्पन्न भइ सञ्चालनमा आउने बताए। ‘कुन–कुन आयोजना कुन मितिमा आउँदैछन् भन्ने विषयमा गहन जानकारी प्राधिकरणसँग हुन्छ,’ चटौतले भने, ‘तर, चालू वर्षमा करिब ७ सयदेखि ८ सय मेगावाट बिजुली प्रसारण लाइनमा थपिन्छ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>